भानुजयन्ती भव्य रूपमा मनाइदै, राष्ट्रकवि घिमिरेलाई रथारोहण अभिनन्दन


हरेकपल July 14, 2019

९ असार, काठमाडौं । २०६ औँ भानुजयन्ती आज भव्यरूपमा मनाइदैछ । यस अवसरमा राष्ट्रकवि माधव घिमिरेलाई रथारोहण सम्मान पनि गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठानको आयोजनामा आज आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान एवं दम्पतिसहित रथारोहण गनि गरिएको हो ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरेका हुन् । भानु प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद सिक्किम, असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद, मणिपुर, नेपाल जनसांस्कृतिक मंच, कोलकोता, अखिल म्यान्मार देशीय हिन्दु धार्मिक संघ, म्यान्मारले भानुजयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई दोसल्लासहित अभिनन्दन पत्रद्वारा सम्मान गरेको हो ।

यसै अवसरमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले भानु जयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्न पाउनु गर्वको विषय भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनु भएको राष्ट्रकवि घिमिरेको सुश्वास्थ्य र दीघार्यूको शुभकामना सन्देश पनि पढेर सुनाएका थिए ।

अभिनन्दनपछि राष्ट्रकवि घिमिरेले विश्वभरमा छरिएर रहेका नेपाली भाषीहरुले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गरे । उनले युग अनुसार नेपालीका बारेमा मात्रै सोच्ने कविको रुपमा भानुभक्त आचार्यलाई चित्रण गरे ।

राष्ट्रकवि घिमिरेले विश्वमा छरिएर रहेका सबै नेपालीहरुलाई भाषाको माध्यामबाट एउटै सुत्रमा बाँध्ने भानुभक्त आचार्य सबैका पूजनीय व्यक्तित्वको रुपमा सदा रहिरहनुपर्ने पनि उल्लेख गरे ।
आज देशभरि भनुजयन्तीका अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन् ।