डुबान पीडितको राहत, उद्धार र उपचारको व्यवस्था मिलाउने सरकारको निर्णय


हरेकपल July 14, 2019

काठमाडौँ, २९  असार  । सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्धार र उपचारको आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने भएको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार मन्त्रिपरिषद्ले राहत तथा उद्धारका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले तथ्यांंक संकलन गरेपछि मात्रै पीडितका लागि आवश्यक आवास पुनर्निर्माणको कामलाई अघि बढाउने सरकारको निर्णय छ । सरकारले पीडितको राहत, उद्दार र उपचारको काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश स्थानीय तहका सबै जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, सञ्चारलगायत अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन पनि सम्बन्धित निकायलाई परिचालन गरिएको प्रवक्ता बास्कोटाको भनाइ छ ।

उनले सो घटनापछि स्वतस्फूर्त रुपमा उद्दार, राहत तथा उपचारमा खट्ने सुरक्षा निकाय, अस्पताल, चिकित्सक, सरकारी तथा गैरसरकारी सबै संस्थाहरुलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।

सरकारले आइतबार अपरान्हसम्म सो घटनामा परी ५१ जनाको मृत्यु, ३१ जना बेपत्ता, २८ जना घाइते भएको जनाएको छ । त्यसैगरी, १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको जानकारी गराएको छ ।