युवा, बालबालिका र ज्येष्ठ नागरिकलाई खर्पनमा बोकेर कहाँ पुर्याउलान् प्रधानमन्त्रीले ?


हरेकपल July 14, 2019

–हरेकपल टिप्पणी–

देशको विकासका लागि म युवालाई, बालबालिकालाई, ज्येष्ठ नागरिकलाई दुवैतिर खर्पनमा बोकेर हिँड्न तयार छु । यो प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ हो । राष्ट्रिय युवा परिषदले आइतबार आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उग्रराष्ट्रवादको नारा र वामएकताका नाममा बहुमत प्राप्त गरेर सत्तामा पुगेका प्रधानमन्त्री ओलीको यो भनाइ सुनेर सायदै कोही अचम्मित पर्यो होला । किनभने प्रधानमन्त्री हुनुभन्दा अघि र भइसकेपछि ओलीका भाषणमा यस्ता कर्णप्रिय शब्दावली निरन्तर सुनिरहेका जनताका लागि यो कुनै अचम्मको विषय नै होइन ।

अचम्म हुनुपर्ने त यो विषय छ कि जनतालाई सुतेकै ठाउँमा खानेकुरा पुर्याइदिने घोषणा गरेका प्रधानमन्त्रीको कार्यकालमा जनता दैनिक आवश्यकताका साना–साना विषयमा पनि पीडित भएर बस्नुपरेको छ । समृद्धिका नाममा केही आसेपासेले मकै गोडेर प्रधानमन्त्री रोजगार कार्यक्रमबाट लाभ पाएका होलान्, तर आमयुवाहरू भने रोजगारी नपाएर दिनहुँ त्रिभुवन विमानस्थलबाट बाहिरिइरहेका छन् ।

सो कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको पनि भन्न भ्याए । विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुन नसकेको उल्लेख गर्दै उनले अहिले सरकारमा आफ्नो लागिभन्दा देशको स्वार्थलाई माथि राख्नेहरु भएको दाबी गरे ।

तर, सो दाबीमा कति सत्यता छ भन्ने कुरा त प्रधानमन्त्री स्वयंले दुई दिनअघि व्यक्त गरेको उनकै विचारले पुष्टि गरेको छ । तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेर काम गर्न सुरु गरेको दुइ दिन पनि नहुँदै भारतीय दूतावासको दबाबमा सरकारले सो निर्णय फिर्ता लियो । दूतावासले चिठी पठाएकै होइन भनेर जनतालाई गुमराहमा राख्न खोजेका प्रधानमन्त्रीले भोलिपल्टै माफी माग्न बाध्य भए, आफूलाई सो चिठीबारे जानकारी नभएको भनेर आफ्नै मन्त्री र कर्मचारीप्रति असन्तुष्टि राखे ।

त्यस्तो महत्वपूर्ण चिठीबारे प्रधानमन्त्रीलाई नै थाहा नदिने कर्मचारी मन्त्रीहरूले कसरी देशको स्वार्थलाई माथि राख्लान् यो यदेकलाग्दो विषय हो । अथवा प्रधानमन्त्रीले गोप्य राख्न खोजेको विषयलाई कर्मचारीले चुहाएर सञ्चार माध्यममा छाएको त होइन ? त्यसैकारण प्रधानमन्त्रीले असन्तुष्टि पोखेका त होइनन भन्ने पनि आशंक भएको छ ।

यतिबेला देशमा युवा जनसंख्या ४० प्रतिशत र काम गर्न सक्ने जनसंख्या ६० प्रतिशत रहेको भन्दै प्रधानमनत्रीले अहिले काम गर्न सक्ने जनसंख्याको बाहुल्यता भएकोले पनि देश विकासका लागि अनुकूल समय भएको बताए । तर, सो जनशक्तिलाई देशमै केही गर्न सक्ने वातावरण सरकारले खोइ बनाएको ? कोरा भाषणले मात्रै देश विकास हुने भए देश यसरी रेमिट्यान्सका भरमा चल्नुपर्ने स्थिति सायदै आउँथ्यो होला ।

प्रधानमन्त्री ओलीले पहिले राजनीति गर्ने युवाहरूलाई कारबाही गर्ने गरेको स्मरण गर्दै अहिले सरकारले नै राजनीति गर्न सिकाइरहेको भनेर गर्व गरे । तर, राजनीति सिकाएर मात्रै समृद्धि आउँदैन भन्ने कुरा स्वयं प्रधानमन्त्रीलाई पनि थाहा होला ।

विगतको माओवादी युद्धले जनतालाई राजनीतिक रूपमा केही जागरुक त बनायो । तर, राजनीतिबाहेक केही नजानेका ती युवाको वर्तमन स्थिति कति नाजुक छ भन्ने सबैले प्रत्यक्ष देखिरहेकै छन् । हातमा सीप पनि नभएका र शैक्षिक प्रमाणपत्र पनि नभएका कारण केही युवा अहिले डिप्रेसनको सिकार भएका छन् । कति विदेश भासिए होला भने कति नेकपाकै नाममा अहिले पनि मारिइरहेका छन् ।

त्यसैले प्रधानमन्त्री ओली बोलीले नै मात्रै जनता लठ्ठ पार्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ । दुईतिहाइ बहुमतको प्रधानमन्त्रीले छाती फुलाएर मात्रै हुँदैन । देशमा विकास र समृद्धिको फूल फुलाउनुपर्छ ।