उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
ग्रहण भनेको ग्राह्य र ग्राहकबीचको सम्बन्ध हो । सामान्य अर्थमा पृथ्वीको छायाँले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण हुन्छ । ग्रहण लागेका समय दान पुण्यका लागि अति उत्तम मानिएको छ । स्मृति पुराणले पनि जप र दानका लागि ग्रहणको समय उत्तम हो भन्ने चर्चा गरेका छन् । स्नान, जप, दानका लागि ग्रहण उत्तम समय हो भन्दै भास्कराचार्यले पनि स्मृति पुराणको वचनलाई यसरी स्मरण गरेका छन् : बहुफलं जपदान हुतादिके स्मृतिपुराणविदः प्रवदन्ति हि । सदुपयोगि जने सचमत्कृति ग्रहणमिन्द्विनयोः कथयाम्यतः ।। (सिद्धान्तशिरोमणि, चन्द्रग्रहणधिकार, श्लो. १) अर्थात् जप, दान, यज्ञाहुति आदि गर्नका लागि ग्रहण उत्तम अवसर हो । यो आकाशमा देखिने एक चमत्कृति पनि हो ।
पृथ्वीको छायाँभित्र चन्द्रमा प्रवेश गरेको अवस्थामा चन्द्र ग्रहण लाग्ने गर्दछ । भूच्छायां प्राङ्मुखश्चन्द्रो विशत्यस्य भवेदसौ ।। (सूर्य सिद्धान्त, चन्द्रग्रहणाधिकार, श्लो. ९) अर्थात् पूर्वाभिमुख भ्रमण गरिरहेको चन्द्रमा पृथ्वीको छायाँमा प्रवेश गर्छ र चन्द्रग्रण लाग्छ । भूविम्बमा चन्द्रमाको सदा पूर्वभाग प्रवेश हुने भएकाले चन्द्रग्रहणमा चन्द्रविम्बको पूर्वदिशामा स्पर्श र पश्चिम भागबाट मोक्ष हुने गर्दछ ।

सबै पूर्णिमामा किन चन्द्रग्रहण लाग्दैन ?
पृथ्वीको छायाँ निरन्तर क्रान्तिवृत्त (सूर्य हिँड्ने वृत्त वा वाटो)मा हिँड्छ तर चन्द्रमाको हिँड्ने बाटो छुट्टै छ । अर्थात् चन्द्रमा क्रान्तिवृत्तभन्दा अन्यत्रैबाट घुमिरहेको हुन्छ । क्रान्तिवृत्तको र चन्द्रभ्रमणमार्ग(चन्द्रविमण्डल)को जहाँ सम्पात हुन्छ ती स्थानलाई पात भनिन्छ । यी पात मध्येको उत्तरी सम्पातलाई राहु र दक्षिणी सम्पातलाई केतु भनिएको हो । राहु केतुको स्वतन्त्र पिण्डीय अस्तित्व छैन । यस्तो पातस्थानमा वा पातासन्न स्थानमा चन्द्रमा पुगेको र पूर्णिमा पनि परेको अवस्था भए मात्र चन्द्रग्रहण लाग्न सक्छ । सबै पूर्णिमामा यस्तो स्थिति हुन सक्दैन र हरेक पूर्णिमामा चन्द्रग्रहण लाग्दैन । चन्द्रमाको बाटोले पृथ्वीको बाटोसित अन्दाजी ५ डिग्रीको कोण बनाउने गर्दछ । तसर्थ चन्द्र, पृथ्वी र सूर्य एउटै सोझो रेखामा नपर्न सक्छन् । जुनबेला पर्छ त्यो वेला मात्र चन्द्र ग्रहण लाग्ने भएकाले सबै पूर्णिमामा यस्तो स्थिति (चन्द्र, सूर्य र पृथ्वीको एउटै सरल रेखामा पर्ने स्थिति) नपर्ने भएकाले सबै पूर्णिमामा चन्द्रग्रहण नलागेको हो ।
चन्द्रग्रहणका प्रकार
चन्द्रग्रण दुई प्रकारका हुन्छन् । १) पूर्ण चन्द्रग्रहण र २) खण्डग्रास चन्द्रग्रहण । चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा पर्दा पूर्णग्रास चन्द्रग्रहण हुन्छ । यसैगरी चन्द्रमाको केही भाग मात्र पृथ्वीको छाँयामा पर्छ भने खण्डग्रस चन्द्र ग्रहण लाग्ने गर्दछ । सूर्य र चन्द्रमा आमने सामने १८० डिग्रीको अन्तरमा भएको समयका चन्द्रग्रहण लाग्ने गर्दछ । पूर्णान्त कालमा नै चन्द्रग्रहण सम्भव हुन्छ । यसरी चन्द्र ग्रहण लाग्दा पूर्वमा स्पर्श र पश्चिम दिशामा मोक्ष हुने गर्दछ ।
यसवर्ष २०७६ आषाढ ३१ गतेको चन्द्रग्रहण
यसवर्ष २०७६ आषाढ ३१ गते खण्डग्रास चन्द्रग्रहण लाग्नेछन् । ईशवीय वर्ष को १६÷१७ जुलाई सन् २०१९ को राति योग ग्रहण आकाशमा देख्न सकिन्छ । ग्रहण नेपालका भूभागबाट प्रत्यक्ष देख्न सकिन्छ । राति १।४६ बाट स्पर्श हुने खण्डग्रास चन्द्रग्रहण रातिकै ३।१५ मा मध्य हुन्छ र ४।४५ मा मोक्ष हुन्छ । यसरी २ घण्टा ५९ मिनेट लामो समयसम्म योग्रहण आकाशमा देख्न सकिन्छ ।

कुन राशिलाई ग्रहण हेर्दा के फल ?
उत्तराषाढा नक्षत्रका दिन ग्रहण लाग्ने भएकाले मकर राशि त्यसमा पनि उत्तराषाढा नक्षत्र भएका व्यक्तिलाई ग्रहण कष्टदाी रहनेछ ।
मेष राशिः ग्रहण अशुभदायी रहनेछ, फल माननाश बताइएको छ ।
वृष राशिः शारीरिक कष्ट रहनेछ, ग्रहण दर्शन नगर्नु नै शुभ हुनेछ ।
मिथुन राशिः ग्रहण दर्शन पीडादायी रहन सक्छ, त्यसैले ग्रहण दर्शन अशुभ रहने देखिन्छ ।
कर्कट राशिः ग्रहण दर्शन शुभ रहनेछ, सुखमा वृद्धि हुने देखिन्छ ।
सिंह राशिः ग्रहण फल चिन्नता बताइएकोछ, ग्रहणको दर्शन नगर्नु नै उचित हुनेछ ।
कन्या राशिः ग्रहण दर्शनले रोग निम्त्यान सक्नेछ, फल व्यथा बताइएको छ ।
तुला राशिः आर्थिक उन्नति हुनेछ, श्रीप्राप्ति फल बताइएको छ ।
वृश्चिक राशिः कार्यमा अवरोधका साथै आर्थिक एवं भौतिक क्षतिकोफल बताइएको छ ।
धनु राशिः ग्रहण दर्शनले हानि हुने भएकाले फल घात बताइएको छ ।
मकर राशिः ग्रहण दर्शनले खर्चमा वृद्धि गराउने भएकाले नहेर्नु नै उत्तम हुनेछ ।
कुम्भ राशिः आयमा वृद्धि हुनेछ, फल लाभ बताइएको छ ।
मीन राशिः ग्रहण दर्श शुभ रहनेछ, फल सुख मिल्ने बताइएको छ ।
ग्रहणको सुतक र बार्नु पर्ने कार्य
२०७६ साल आषाढ ३१ गते अपराह्न ४।४६ बजेपछि ग्रहणको सुतक आरम्भ हुन्छ । अतः सो पूर्व नै भोजन गगरिसक्नुपर्ने धर्मशास्त्रीय वचन पाइन्छ । अर्थात् ४।४६ बजेपछि बालक, वृद्ध र आतुर बाहेकलाई भोजन निषेध गरिएको छ ।
ग्रहण लागेको समयलाई विद्ध मानिन्छ । त्यसैले सुतक वार्नुपर्ने शास्त्रीय विधान रहेको छ । सूर्यग्रहे ग्रहणप्रहरादर्वाक् यामचतुष्टयं वेधः । चन्द्रग्रहे तु प्रहरत्रयम् । (धर्मसिन्धु, प्रथमपरिच्छेद, पृ. २७) अर्थात् सूर्यग्रहण लाग्नु भन्दा चार प्रहर (१२ घण्टा) पूर्व र चन्द्रग्रहण लाग्नुभन्दा ३ प्रहर अर्थात् ९ घण्टा अघिदेखि सुतक लाग्छ भनिएको छ । यसैले बाल, वृद्ध र आतुर बाहेक अरुलाई शास्त्रले भोजनादि निषेध गरेको छ । ग्रहण लागेको समयमा भोजन गर्न, सुत्न, मैथुनादि समागम, शरीरमा तेल घस्न, शृंगार, शौच, बध, अरुलाई कष्ट हुने कार्य बर्जित रहन्छन् । ग्रहणकाले शयने कृते रोगो मूत्रे दारिद्रयं पुरीषे कृमिर्मैथुने ग्रामसुकरोभ्यग कुष्ठी भोजने नरक इति । (धर्मसिन्धु, प्रथमपरिच्छेद, पृ. २७) यसैगरी अर्को श्लोक पनि पाइन्छ : निद्रायां जायते व्याधिर्मूत्रे दारिद्र्यमाप्नुयात् । पुरीषे कृमियोनिश्च मैथुने ग्रामसुकरः । आभ्यञ्जने भवेत् कुष्टिर्भोजने स्यादधोगतिः । बन्धने च भवेत् सर्पो बधे च नरकं व्रजेत् ।। अर्थात् ग्रहण लागेका अवस्थामा सुते रोगल लाग्न सक्छ, शौचादि कार्य गर्नाले दारिद्र्य हुन्छ । दिशा बस्नाले कृमियोनि प्राप्त हुन्छ, मैथुनादि संगम गर्नाले अर्को जन्ममा सुगुरको योनि प्राप्त हुन्छ, शरीरमा तेल लगाउनाले वा शृंगार गर्नाले कुष्टरोग लाग्न सक्छ, भोजन गर्नाले अवनति हुन्छ । कसैलाई बन्धनमा राख्नाले सर्पको योनि प्राप्त हुन्छ भने काटमार आदि बध गर्दा नरकको यातना भोग गर्नुपर्छ भनी उल्लेख गरिएको छ । यसैगरी ग्रहणमा श्राद्ध गर्नु शुभ भए पनि श्राद्धको भोजन भने गर्नुहुँदैन ।
ग्रहणमा कस्ता कार्य गर्नु शुभ हुन्छ ?
ग्रहण लागेको समयका जप, दान, मन्त्रसिद्धि जस्ता कार्य गर्नु विशेष शुभ मानिएको छ । विद्यार्थीले अध्ययनको कार्यलाई निरन्तरता दिनु नै उचित हुन्छ । विद्या साधनाका निम्ति पनि यो उत्कृष्ट समय हो । दान लिनु भन्दा पनि दान दिनु उचित हुन्छ भनी शास्त्रमा उल्लेख पाइन्छ । यो समयमा गरिएको दानले अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । यसैगरी ग्रहणमा स्नान पनि विशेष शुभदायी मानिन्छ । ग्रहण स्नान गर्नाले रोगव्याधि हटेर जान्छन् भनिएको छ । ग्रहण लागेको समयमा सबै कुरा अपवित्र हुन्छन् । त्यसैले कुश साथमा राख्नाले अथवा कुश पानीले स्नान गर्नाले ग्रहणजन्य दोषबाट निवृत्त हुन सकिन्छ । तुलादान ग्रहणमा शुभ मानिएको छ (निर्णयसिन्धु, पृ. ४२) ।
ग्रहण एक खगोलीय ग्रहको प्रक्रिया हो । विशेषतः पृथ्वीको छायाँमा चन्द्रमा प्रवेश गरी आफ्नो प्रकाशलाई अवरुद्ध गराएको अवस्थामा चन्द्रग्रहण लाग्ने गर्दछ । विशेषतः ग्रहण लागेको समयमा पृथ्वीमा विकार उत्पन्न हुने भएकाले स्नान, दान, जपादि कर्म गर्नु भनी शास्त्रले निर्देश गरेको हो । विकृत समयमा गरिएको भोजनले पनि शरीरमा कष्ट प्रदान गर्ने भएकाले भोजन निषेध धर्मशास्त्रले गरेको हो । प्रकृतिको अनुपम लीलाको सुन्दर अनुभूति हुने ग्रहण आफूमै एक रमणीय पक्ष हो । वेदले पनि ग्रहणको चर्चा गरेको छ । ग्रहण पूर्वीय ज्ञानको उपज हो । यसको सही अर्थ र रहस्य हजारौ वर्ष पहिले नै हाम्रा ऋषिमुनिहरूले पत्ता लगाइसकेका थिए ।
सन्दर्भग्रन्थसूची
आचार्य, भास्कर, सिद्धान्तशिरोमणिः, मुरलीधरचतुर्वेद (व्याख्या.), द्वि.संस्क., वाणरसी ः सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, ई.सं. १९९८ ।
कमलाकर, निर्णयसिन्धु, वाराणसी : क्षेमराज श्रीकृष्णदास श्रेष्ठ, ईंसं. १९६५ ।
रामदैवज्ञ, मुहूत्र्तचिन्तामणिः, विन्ध्येश्वरी प्रसाद द्विवेदी, तृ. संंक. वाराणसी ः चौखम्बा सुरभारती प्रकाशन, ई.सं. १९९९ ।
सूर्यसिद्धान्तः, वाराणसी : सम्पूर्णनन्द संस्कृत विश्वविद्यालय, वि.सं.२०४४ ।
नेसंवि पञ्चाङ्गम् –२०७६ ।