सावधान ! नेपाल हो जे पनि हुन सक्छ


हरेकपल July 16, 2019

– यज्ञराज जोशी-

हाम्रो समाजमा एकथरी मानिसहरूको स्वभाव ठट्टै ठट्टामा भए पनि मारी दिन्छु या आफैँ पनि मरिदिन्छु भनेर भन्दै हिँड्ने घुर्कि र फूर्ति लगाउँदै जाने खालको हुन्छ । उ यसरी मर्छु वा मार्छु किन भनि राखेको छ कसैको खोजीको विषय बन्दैन । अथवा सतर्कता तर्फ ध्यान कसैको गएको हुँदैन । तर एकदिन यस्तो आउँछ उसले कसैलाई पनि मार्छ आफैँ पनि मर्छ ।

सबै कुरा बिग्रिसकेपछिको पश्चातापको के काम ? समयमा उसले भने बोलेका कुराको गहनता, सम्वेदनशीलता र आन्तरिक मर्मको बेवास्ता पछिको पछुतापको कुनै अर्थ रहँदैन साथै मर्छु र मार्छु भन्नेले पनि त्यसको उद्देश्य, कारण र मर्म पनि स्पस्ट नपारेका कारण घटना दोहोरिएका हुन्छन् । समाजकै कमिकमजोरी म यस मानेमा भन्छु उसले जेसुकै कारणले भनेपनि बिषयको गम्भिरतालाई समाजले समयमै बुझ्नु पर्ने जरूरी हुन्छ । उसले किन यस्तो जघन्ने बोलि बोल्दैछ ? अरू कारण केहि नभेटाए पनि उसको पारिवारिक तथा मानसिक अवस्थामा कँहि गडबडी छ कि ? भन्ने सम्मको खोजि गरी केहि पत्ता लागेमा सायद समयमै केहि समाधानको खोजि हुन्थ्यो की ?

यस्तैखाले घटनाको परिदृश्य नेपालको राजनीतिमा म अहिले देखिराखेको छु । एकतन्त्री राणा, निरंकुश पंचायत र २४० को जहाँनिया शाही शासनको अन्त्यपछि नेपालमा पूनः हतियारै उठायर आन्दोलन गर्नु पर्ने, जंगलै जानु पर्ने, बम र बारूदै पट्काउनु पर्ने, चन्द आतंक नै गर्नु पर्ने, पुलिस लगाएत शीर्ष नेतालाई निशाना बनाउनु पर्ने कारण न पंतिकारले बुझ्न सकेको छ न आन्दोलनकारीले बुझाउन सकेको छ । तर पनि बुझ्न खोज्दा न चिया पसलमा चियाको चुस्कि लिनेले आन्दोलनको मूल एजेण्डा थाहा पाएको छ, न पत्रकारसँगको छलफलमा त्यसको स्पष्टता छ । न राजनीति दलका साना ठूला सभाहरूमा जंगल पस्नु र बम बारूद पट्काउनुको रहस्य खोलिएको छ । जनतालाई पनि सबै थाहा छैन, नकहिले काँहि बारमा जम्काभेट हुने पार्टनरलाई थाहा छ तर पनि आन्दोलनको शुरूआत भएको छ । गोलि, बम र बारूद पड्कन शुरू भएका छन् संगसंगै धरपकड र गिरफ्तार पनि चलेको छ ।

सुन्नमा मात्र आएको छ आन्दोलन प्रतिकृयाबादी, नोकरशाही, सामन्तबाद, बिदेशी पुँजिपति दलाल र राष्ट्रिय स्वभिमानका लागि भनेर अमूर्त शब्दावली राखेर थालनि गरिएको छ । आन्दोलन स्पष्ट रूपले बुझिने एजेण्डा नभई सफल हुन सक्दैन । हतियार ऊठाए पछि गोलीको निसाना ठिक ठाउँमा लागेन भने त्यसले अर्को खतरा उत्पन्न गर्छ । स्पस्ट एजेण्डा बिनाको आन्दोलनले छाडापन र विध्वंस पैदा गर्छ । हेक्का रहोस् काङ्ग्रेसले हतियार मात्र उठाएन निरंकूश पंचायतका पृष्टपोशक राजा महेन्द्रको गाडीमा बम नै बर्सायो ।

झापा काण्डमा धेरैका टाउका काट्ने नेताहरू ऐले सत्तामा नै छन । त्यतिमात्र होईन बिप्लबजी समेतले हतियार ऊठायर गणतन्त्र ल्याऊनेहरू पनि ऐले सत्ताको स्वाद लिईराखेका छन । यी सबैखाले आन्दोलन र हतियारको आ–आफ्नो महत्व र उद्देश्य थियो, तर यो आन्दोलन हतियारकै दम्भले सफल भएका होइनन् । र जनताको अपार सहयोगमा मात्र सफल भएको ईतिहास छ । त्यसैलै आन्दोलनको औचित्त्य छैन भन्नु भन्दा एजेण्डाको पुष्टि सबैले बुझ्ने र देखिने हिसाबको भएन भन्ने लेकखको मनसाय हो ।

यसको मतलबचाहिँ सरकारले बेवास्ता नै गर्नुपर्छ भन्ने मनासाय लेखकको होईन । मैले शुरूमै उल्लेख गरेको छु कुनै कारणबिना आफुपनि मर्छु अरूलाई पनि मार्छु भन्छ भने के कारणले भनेको छ उसको आन्तरिक बाहिरीय मनसाय समयमै बुझ्न जरूरी छ । तर सरकारले त्यो बुझ्ने प्रयास गरेको महसुस मैले गरेको छैन । बिप्लव माओबादीले कुनै घटना नघटाउँदै दललाई प्रतिबन्ध लगाउनु, बिप्लव माओबादीका नेता तथा कार्यकर्ताको धरपकड गर्नु अनि ईन्काउन्टरका नाममा मारीनै दिनु, वार्ताको कुनै पहलै नगर्नुले सरकार बेलकुल गैरजिम्बेवार देखिएको छ ।

समयमै निभाएन भने आगोको एक झिल्काले कत्रो रूप लिन्छ प्रचण्डजी विज्ञ छन् । झिल्कोबाट उब्जिएको आगोलाई निभाउन कति पापड पेल्नु पर्यो मूलुकले के पी ओलिलाई राम्ररी थाहा छ । तैपनि किन ढिलाई र बेवास्ता भैराखेको छ मात्र होईन झन्झन् बिप्लव माओबादीलाई चिढाउने काम भएको छ बुझ्न नसकिने कम्यूनिष्ट सरकारको खेल यहि हो । एजेणडा बिनाको हत्याहिंसा र आन्दोलन कारण बिनाको पार्टी प्रतिबन्ध र धरपकडले कोहि जंगलबाट कोही सत्तामा बसेर अन्त्तत्वगत्त्वा “कालेकाले मिलेर खाउ” भनेर साम्यबादी अधिनायक बादमा मूलुकलाई लैजाने चेष्टात हैनकी भनेर किन संका नग्रने ?

यसैले वार्ताको थालनी तुरून्त गरौँ । के रहेछन एजेण्डा ? टेबुलमा बसेपछि थाहा हुन्छ ।जनताले पनि सुसूचित हुने अवसर पाउँछन् । संविधान संशोधन होभने कुन धारा उपधारा हो, संसदीय पद्दति परिवर्तनका कुरा हुन भने बिकल्पमा के, राजसंस्थाकै पुनराबृतित हैनकि या कार्यकारी राष्ट्रपति सहितको एकदलीय साम्यवादी शासन ब्यबस्था ? एजेण्डा थाहापायपछि जनताले साथदिने नदिने बिषयमा निर्णय लिन सक्छन् ।साथसाथै टेबुलमा बसेपछि केके मागपूरा गर्न सकिन्छ सरकारले पनि सोच्नु पर्ने बन्छ । अहिलेत सरकारले वार्ता आव्हानको नाटकमात्र गर्ने, बिप्लवजीले हतियार देखाएर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खेलबाहेक भित्री कुरा जनमानसमा आएको छैन ।

हुनत नेकपाका अर्का अदृश्य “क. प्रचण्डले सरकार गठनको लगतै पोखराको एक आमसभामा अब यो मुलुकमा कार्यकारी राष्ट्रपतिय शासन ब्यबस्था लागु हुन्छ त्यस बिषयमा नेताहरू बिच सहमत भैसकेको छ अबको तीन बर्ष पछि त्योकुरा अगाडि बढ्छ” भन्नु भएको थियो । कुनकुन नेताका बिचमा त्यो सहमति थियो प्रचण्डजीले खुलाउनु भएको भए जनताले एकथरिको मानसिकता बनाईसक्थे । जनतालाई अनवभिग्य राखेको यो अभिव्यक्ति भित्रपनि बिप्लवजीको राज लुकेको छ कि भन्ने शंकात उब्जन्छ नै । किनभने एउटा सत्ताधारी पार्टीका अध्यक्ष पटक पटक भनि राख्नु हुन्छ आबश्यकता परे म जंगल जान र हतियार उठाउन तयारछु भनेर । हतियारको मोहमा रमाएका सबै एकठाउँमा आउन सक्दैन भनेर पनि कसरी भन्ने ।

जेसुकै होस् मुलुकलाई थप हत्या हिंसाबाट जोगाउन र अस्थिरताका कारण जनतामा उत्पन्न हुन सक्ने चरम निरासालाई रोक्न अबढिलाई गर्नु हुन्न । हामी दुईतिहाईको सरकारमा छौँ जे गर्दा पनि हुन्छ हाम्रो कसैले केही बिगार्न सक्दैन भन्ने दम्भ पनि नराखौँ । यो देशमा कुनैबेलामा केहीपनि हुनसक्छ भन्ने हेक्का रहोस् । दलहरूको अस्तित्व हुँदाहुँदै सरकार बनाउने र ढाल्ने खेलमा एकै चोटी खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएको र दलहरू सबैलाई बाध्यताबस स्वीकारगर्नु परेको ईतिहास पनि हामीसँगै छ । त्यसैले सबैशक्तिहरू समाप्त भइसके हामी दुई तिहाईमा छौँ अब जेगर्दा पनि हुन्छ भन्ठान्ने हो भने नेपाल हो जेपनि हुनसक्छ भन्नेलाई पनि छुट हुन्न र ?

(लेखक: पूर्व नगर प्रमुख तथा ने.का. पूर्व आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्छ ।)