बाढी पीडित क्षेत्रमा सरकार भन्दा पहिले विपक्षी नेताहरु


हरेकपल July 17, 2019

-हरेकपल संवाददाता-

रौतहट, १ साउन । विगत एक हप्तादेखि परेको अविरल वर्षाका कारण तराई पहाड सर्वत्र व्यापक जनधनको क्षति भएको छ । पहाडी जिल्लाहरुमा पहिरोले वहाएर अनेक मानिसको ज्यान गएको छ भने मधेसतराईको जनजीवन डूवानका कारण अस्तव्यस्त भएको छ ।

अहिलेसम्म करीव असी जना नेपाली नागरिकहरुको ज्यान गइसकेको छ । यस अवस्थामा सरकार राहतकालागि तीव्ररुपमा संलग्न हुन सकिरहेको देखिदैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको वैठक नै स्थगित गरी पार्टीका संपूर्ण सदस्यहरु, भातृ र शुभेच्छुक संस्थाका सदस्यहरुलाई उद्धार तथा राहतमा सक्रिय हुन आह्वान गरेको छ ।

बाढी पिडीतहरुको उद्धार तथा राहतका विषयमा वुझ्न सदस्यहरुलाई परिचालन गर्न तथा सरकारी संयन्त्रलाई बढी जिम्मेदार भएर राहत र उद्धारमा जुट्न प्रेरित गर्न नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति एवम् पूर्वमन्त्री विमलेन्द्र निधि सहितको टोली यतिखेर वारा, पर्सा , रौतहट , धनुषा, महोत्तरी, सर्लाही सिराहा , सप्तरीको यात्रामा पुगेको छ ।

हिजोमात्र निधिले धनुषा क्षेत्रमा पिडीतहरुलाई भेटी सान्त्वना दिएका थिए भने आज रौतहट पुगेर देउवा र निधिले त्यहांको वस्तुस्थिति अवलोकन गर्दै पार्टीका सदस्यहरुलाई उद्धार र राहतमा जुट्न निर्देशन दिएका थिए । सभापति देउवाले अझै केही दिन सोही क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।