भारतको बचाउ गर्दै गृहमन्त्रीले भने– समस्या नेपालमै छ


हरेकपल July 17, 2019

जनकपुरधाम, १ साउन । गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमिमै बनाइएको तटबन्ध ठीक ढंगले नबनाउँदा डुवान र बाढीको समस्या आएको उनले बताएका छन् । भारतीय बाँधका कारण नेपाली भूभाग डुबानमा नपरेको उनको दाबी छ ।

गत साता परेको अविरल वर्षाका कारण तराई–मधेसका जिल्लामा बाढी आई डुबानमा परेका छन् । स्थानीय अधिकारीहरुले सीमा क्षेत्रमा भारतले बनाएका संरचना तथा भएका बाँधका ढोका समयमा नखोल्दा नेपाली भूभाग डुबानमा परेको स्वीकार गरेका छन् ।

तर, गृहमन्त्री थापाले भने सो भनाइको खण्डन गर्दै भारतको बचाउ गरेका छन् । बुधबार डुबानप्रभावित क्षेत्रको भ्रमण गरेपछि उनले समस्या नेपालतर्फ नै रहेको बताएका हुन् ।

भारतले निर्माण गरेको बाँधका कारण नेपाली क्षेत्र डुबानमा परेको समाचार आएपछि आफूहरुले भारतसँग कुराकानी गरेको र भारतीय बाँधले समस्या नल्याएको देखिएको उनले बताएका छन् । ‘भारतीय बाँधले नेपालमा समस्या ल्याएको देखिएको छैन’ उनले भने, ‘समस्या नेपालमै छ ।’

गृहमन्त्री बादलले विपद् व्यवस्थापनका लागि प्राधिकरण गठन गर्ने बताए । जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसक लागि नियमावली बनिसकेको जानकारी गराए । चुरे विनाशले मधेसमा अत्यधिक बाढी आउने गरेको भन्दै उनले चुरे संरक्षणमा जोड दिन सबैसँग आग्रह गरेका छन् ।