साउन २, काठमाडौँ । किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल)को आभाव भएको छ ।
कृषि सामग्री लिमिटेडको केन्द्रीय कार्यालयबाट मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि उक्त लिमिटेडको लहान शाखाले जनाएको छ । धान रोपाइँको बेला मलखादको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा डिएपी मलको अभाव भएको उक्त शाखाका प्रमुख चन्द्रप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिरहामा ३० हजार बोरा डिएपी चाहिएकामा अहिले एउटा बोरा पनि मल यहाँको गोदाममा छैन । डिएपी मलको आभाव भए पनि युरिया मल भन्ने पर्याप्त छ ।
किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गरे पनि मल नपाएपछि निराश भएर फर्कने गरेका छन् । अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मलको अभाबले रोपोमा हाल्न नपाउनाका साथै साथै उत्पादनसमेत घट्ने किसानको भनाइ छ ।
मल उपलब्ध गराइदिनका लागि मन्त्रालयलाई पटक–पटक जानकारी गराएको प्रमुख चौलागाईले बताउनुभयो । सरकारी अनुदानको डिएपी मल वितरणको जिम्मा कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कम्पनीले पाएका छन् । रासस