ओर्लिए व्यवसायीहरू सडकमा, के हो भिसिटिएस ?


हरेकपल July 21, 2019

-हरेकपल संवाददाता-

काठमाडौं । सरकारले साउन १ गत्ते बाट लागु गरेको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) को विरोधमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ ले न्युरोडमा प्रदर्शन गरेको छ । उक्त बिरोध सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले पर्याप्त समय नदिई लागु गरिएको व्यवस्थाले व्यवसायीहरू अप्ठेरोमा पर्ने बताउनुभयो ।

केन्द्रिय सदस्य परशुराम श्रेष्ठले भन्सारमा न्यून बिजकिरणको अन्त्य नभएसम्म खुला सीमाबाट चोरी पैठारी नरोकिने हुँदा त्यता तिर बढि ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । आइटीमा सबैको पहुँच नपुगेसम्म यस व्यवस्था लागु गर्न नसिकिने विरोध प्रदर्शनमा सहभागी वक्ताहरूको धारणा रहेको थियो । हरेकपल डटकमसँग कुरा गर्दै नेपाल व्यापार संघका महासचिव कृष्ण अधिकारीले सरकारले यो व्यवस्था विना तयारी ल्याएको र यसले व्यवसायिहरू त्रसित हुने अवस्था बनाएको हुँदा तत्काल फिर्ता लिइनुपर्ने बताउनुभयो ।

के हो भिसिटिएस ?
भिसिटिएस वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा व्यावसायीक प्रयोजनका मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसार-प्रसार गर्नुपर्ने व्यवस्था हो।

कस-कसले यो प्रणालीमा प्रविष्ट गर्नु पर्दछ ?
– यस प्रणालीमा व्यवसायिक प्रयोजनका मालवस्तु एक स्थानबाट अर्को स्थानमा थोकस्तर सम्मको कारोबार गर्नेले आन्तरिक ओसारपसार गर्दा ढुवानी साधन र मालसामानको संक्षिप्त विवरण प्रविष्ट गर्नु पर्दछ ।
– आयातको हकमा आयातकर्ता वा भन्सार एजेन्टले भन्सार विन्दुमा नै प्रविष्ट गर्नु पर्दछ ।
– ढुवानी सेवा संचालन गर्ने कम्पनी मार्फत ढुवानी गर्ने थोक स्तरको विक्रिको प्रविष्टि ढुवानी कम्पनीले गर्नु पर्दछ ।
– उद्धोग, वितरक, वा थोक विक्रेताले सोझै आफैले मालवस्तु आफ्नो कारोवारको स्थलबाट सोझै विक्रि गरी पठाउदा मात्र निजहरूले यो प्रणालीमा प्रविष्टि गर्नु पर्दछ । उद्धोग, वितरक वा थोक विक्रेताले आफ्नै उद्देश्य अनुरूप उपभोक्तालाई खुद्रास्तरमा विक्रि गर्दा प्रविष्टि गर्नु पर्दैन । तर स्वेच्छिक रूपमा प्रविष्टि गर्न सक्दछ ।
– खुद्रा स्तरको व्यवसाय गर्नेहरूले यो प्रणालीमा प्रविष्टि गर्नु पर्दैन ।
– यो प्रणाली लागु भएपछि हाल राजस्व अनुसन्धान कार्यालयका चेकपोष्टहरूमा मेनिफेष्टो तथा बिल विजकको फोटोकपी बुझाउनु पर्दैन । यो प्रणाली प्रयोग गरे वापत कुनै शुल्क, रकम बुझाउनु पर्दैन ।
– चलानबाट मालवस्तु पठाँउदा यो प्रणालीमा प्रविष्टि गरे पुग्दछ । आन्तरिक राजस्व कार्यालयमा चलान बुझाउनु पर्दैन ।
– उद्धोगले कृषकबाट कच्चा पदार्थ जस्तै धान, गँहु, मकै, उखु जस्ता वस्तु खरिद गर्दा यसमा प्रविष्टि गर्नु पर्दैन ।