मान्छे कस्ता व्यक्तिसँग मित्रता गाँस्न चाहन्छन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल July 23, 2019

वनानि दहतो वन्हेः सखा भवति मारुतः ।
स एव दीपनाशाय कृशे कस्यास्ति सौहृदम् ।। – संस्कृत सुभाषितम्

मान्छे कमजोर व्यक्तिसँगै कहिल्यै मित्रता गाँस्न चाहँदैनन् । जसरी जब जंगलमा आगो लाग्छ त्यो वेला हावाको झोक्काले त्यही आगो उडाएर अर्कोतिर लान्छ र डडेलो अर्कोतिर सल्किन्छ । अर्थात् ठूलो आगोको हावा पनि मित्र हुन्छ वा हुनपुग्छ । यसरी त्यही हावा हो सानो बलिरहेको दियोलाई एकै झोक्काले निभाइदिन्छ । किनकि त्यहाँ आगोको ज्लाला सानो हुन्छ ।

यो संसार शक्तिकै पछि लाग्छ । जोसँग अधिक शक्ति हुन्छ, मान्छे पनि उसेकै पछि लागिरहेका हुन्छन् । प्रकृतिमा पनि यस्तै उदाहरण पाइन्छ । त्यही हावा हो सानो वस्तुलाई निभाउँछ पनि अनि त्यही हावा हो आगलागीमा सघाउँछ पनि भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला –