मोदीलाई लिपुलेकबारे जानकारी गराएँ, जयशंकरले रातो मुख बनाए : डा. महत


हरेकपल July 22, 2019

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले भारत र चीनले लिपुलेक सम्झौता गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले भेटेरै कुरा राखेको बताएका छन् ।

बिपी कोइरालाको ३७औँ स्मृति दिवसको अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास प्रतिष्ठानले सुन्दरीजलमा आयोजना गरेको कार्यक्रममा बोल्दै महतले यस्तो बताएका हुन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका महतले बिपीको विदेश नीतिको चर्चा गर्दै लिपुलेकको सन्दर्भ स्मरण गराए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले त्यतिवेलै लिपुलेकमा नेपालको दाबी प्रस्तुत गरेको जानकारी गराए । कोइरालाले भारत र चीनबीच भएको लिपुलेक सम्झौता गलत भएको भन्दै मोदीलाई फोन गरेको महतको दाबी थियो ।

तत्कालीन अर्थमन्त्री महत अन्तर्राष्ट्रिय दाता सम्मेलनका लागि भारतीय प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता दिन गएका वेला आफूले लिपुलेकबारे कुरा उठाएको बताए । आफ्नो कुरा सुनेपछि मोदीले तत्कालीन परराष्ट्र सचिव एस जयशंकरलाई बोलाएर सोधेको महतले बताए ।

भारतका तत्कालीन परराष्ट्र सचिव अहिले परराष्ट्रमन्त्री भएका छन् । मोदीले उनलाई बोलाएर लिपुलेकबारे भन्रदा उनले रातो मुख लाएको र एक दिन मिटिङ नै रोकिएको बताए । आफूले आपत्ति जनाएपछि फेरि भोलिपल्ट भेट गरेको स्मरण गर्दै उनले राष्ट्र हितको मामलामा कांग्रेस कहिले पनि पछाडि नपर्ने दाबी गरे ।

कोइरालाको राजनीतिक, आर्थिक र वैदेशिक मामलासम्बन्धी दृष्टिकोणका बारे चर्चा गर्दै महतले कोइरालाले भारत र चीन दुवै देशसँग राम्रो सम्बन्ध स्थापित गरेको बताए ।

मुस्ताङभन्दा माथि नेपालको प्रहरी चिनियाँ पक्षबाट मारिँदा बिपीले आपत्ति जनाएपछि चीनका प्रधानमन्त्रीले गल्ती भयो भनेर माफी मागेको र चीन सरकारले क्षतिपूर्तिसमेत तिरेको बताए ।

भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुको अभिव्यक्तिमा बिपीले आपत्ति जनाउँदा उनले आफ्नो अभिव्यक्ति फिर्ता लिएको स्मरण गर्दै उनले बिपीको भारत र चीनसँगको त्यतिवेलाको अडानबारे जानकारी गराए ।

कांग्रेस राष्ट्रवादी पार्टी भएकोमा कोही भ्रममा नपर्न आग्रह गरे । पार्टीमा अनावश्यक गुटबन्दी गर्ने, पैसाको खेल गर्ने प्रवृत्ति गलत भएको भन्दै उनले पार्टीलाई अगाडि बढाउन बिपीको आदर्श र आचरणलाई अपनाउनुपर्नेमा जोड दिए ।

गायक रूविन गन्धर्वले बिपीको बारेमा गीत प्रस्तुत गरेका थिए । बिपी कोइराला युवा नेतृत्व विकास प्रतिष्ठानका अध्यक्ष भरत खड्काको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।