राती १२ बजे घाम लाग्ने देशको कथा-६


हरेकपल July 23, 2019

-हरिविनाेद अधिकारी-

नर्वे स्वतन्त्र देश हो । धेरै कुरामा स्वतन्त्र छ । युरोपको पनि विकसितमात्र होइन कि धनी र सुसँस्कृत देश पनि हो । राजतन्त्र भएको देश भए पनि राजा संविधानको धारामा मात्र सीमित छन् जवकि राजाको असीमित अधिकारलाई न त कसैले चुनौती नै दिन सक्छन्, न त राजा त्यो आलङ्कारिक अधिकारलाई नाक कान दुखाउने गहनाको रुपमा प्रयोग नै गर्छन् ।

यो देश कल्पनाको आधारमा विभाजित गरिएको उत्तरी धु्रवमा छ । एकप्रकारले ६ महिना उज्यालो र ६ महिना अँध्यारो हुने ठाउँ हो । मैले अघिल्लो पटक लेखेँ—कालो हिउँद र सेतो हिउँद । यहाँ आएर बस्नु भएका प्रतिष्ठित व्यक्तित्व समीर ढकालजीले भन्नुभयो—तपाईँले हरियो हिउँदको कुरा किन छुटाउनु भयो ? अर्थात् जब जाडो त कठ्यांग्रिने नै हुन्छ , तर हिउँ पग्लन थाल्छ, वसन्त ऋतुको आगमन हुनका लागि विस्तारै पालुवा पलाउन थाल्छन्, हिउँले खाएका विरुवा, रुख, झारपात बौरिन थाल्छन्, त्यसैलाई हरियो हिउँद पनि भनौँ न । मलाई चित्त बुझ्यो । अब भन्नेभएँ, हिउँद अन्धकार हुन्छ, हिउँद उज्यालो हुन्छ सेतो हिउँको कारणले अनि हिउँ पग्लन थालेपछि विस्तारै वनस्पतिहरु हिउँबाट बौरिन थाल्दा देखिने हरियोपनलाई जाडैको हरियोपन हुँदा हरियो हिउँद । समीरजीलाई यो तर्कका लागि धन्यवाद दिन्छु ।

अब प्रसङ्ग रक्सी र चुरोटको । कुनै रेस्टुराँ वा घरभित्र चुरोट खान पाइँदैन रे । सायद त्यसैले होला , बाटाबाटामा पुरुष हुन् कि महिला , चुरोट तान्दै हिँडेका पाइन्छन् । अझ विहान बिहानै बियर खानेहरु पनि देखिन्छन् समरको विहानै रेस्टुराँको अघिल्तिर कुर्सीमा बसेर । चुरोट पनि तानिरहेका । अनि चुरोट तान्नेहरुले जताततै चुरोटका ठुटा फालेका । अरु कुरामा सबैतिर सफा छ तर चुरोटका ठुटाहरु भने सडकको मानिसहरु हिँड्ने फुटपाथमा देखिन्छ । तर १८ वर्ष नपुगी चुरोट किन्न पाइँदैन । पसलले दियो भने कार्बाही हुन्छ । कसैले चुरोट किन्न आयो भने शङ्का लागे परिचय पत्र हेरेर उमेरको निश्चित गर्न पाइन्छ , त्यो कानुनी प्रावधान नै हो । रक्सी पनि त्यस्तै हो ।

कुनै पनि रेस्टुराँमा वा पसलमा रक्सी किन्नका लागि १८ वर्ष पुगेकै हुनुपर्छ , खान पनि १८ वर्ष पुगेकै हुनुपर्छ । अल्कोहलका वारेमा कडा नियम छ भन्छिन् स्तोलेन क्याफे एन्ड बारकी कार्यकारी प्रमुख रञ्जना परियार । उनी रेस्टुराँ व्यवस्थापनमा स्नातक उपाधि हासिल गरेकी नेपाली मूलकी पुर्तगाली तर हाल नर्वेमा पिताजी प्रेमबहादुर परियारको रेस्टुरा सञ्चालन गरेकी बसेकी छन् । उनका अनुसार कुनै पनि नर्वेलीले मातेर हिँड्ने गरी अल्कोहल पिउन पाउँदैन, अरुलाई कुनै हानि हुने गरी बोल्न थालेमा वा मातेर लड्ने जस्तो भएमा उसलाई रेस्टुराँबाट निकालेरमात्र अरु ग्राहकलाई सेवा दिनुपर्छ । बाहिरबाट किनेर ल्याउन पनि पाउँदैन, किनेर खान थालेको अल्कोहल बाँकी भए पनि लिएर जान पाउँदैन, मात्नेगरी खान पनि पाउँदैन । कुनै १८ वर्ष पुगेको हो वा होइन भनेर परिचय पत्र हेरेरमात्र दिनुपर्छ ।

१८ देखि २० वर्षसम्मको ग्राहकले रातको ११ बजेसम्ममात्र रेस्टुराँमा बस्न पाउँछ । तिनीहरुलाई दिइने अल्कोहलको मात्रा पनि निश्चित छ । बियरमा बढीमा ४.५ प्रतिशत हुन्छ अनि वाइनमा बढीमा १४ प्रतिशतमात्र अल्कोहलको मात्रा हुनुपर्छ । तिनीहरुलाई ह्विस्की, ब्रान्डी दिइँदैन । त्यसपछि २४ वर्ष नाघेको ग्राहकमात्रले अनुमतिका आधारमा रातको १ वा २ वा ३ बजेसम्म बस्न पाउँछ तर मातेर बसेमा , नटेरी बसेमा प्रहरीलाई जानकारी दिनैपर्छ । हुन त केही मानिसहरु मातेको अवस्थामा पनि देखिए सडकमा तर ती मानिसहरु नर्वेली होइनन् । रञ्जनाका अनुसार एउटा टेबलमा यदि ज्येष्ठ नागरिकहरुसँग युवाहरु पनि बसेर बियर, वाइन खाइरहेका छन् र ती युवाहरु मात्न थालेको देखियो भने या झुल्न थालेको देखियो भने तिनलाई निकालेरमात्र अरुलाई सेवा प्रदान गर्नुपर्छ । आँखा राता राता पारेर, झुलेर र मातेर रेस्टुराँमा बस्न पाइँदैन, त्यस्तालाई कुनै पनि प्रकारको पेय दिनु पनि हुँदैन । नियम कडा छ ।

मातेर सडकमा हिँड्नेमा बाहिर देशबाट नर्वे आएका अफ्रिकीहरु बढी देखिए । उमेर पुगेकाले किनेर लान पाउने नै भए , घरमा खान पनि पाउने नै भए । तर चुरोट भने घरभित्र वा पसलभित्र खान पाइँदैन । सर्सर्ती हेर्दा पुरुष र महिला दुवै समानरुपमा चुरोट खाने देखिएका हुन्छन् । वियर र वाइन खाने पाइन्छन् ।

अर्को प्रसङ्ग गुराँसको 

गुराँस हाम्रो देशको राष्ट्रिय फूल हो , लाली गुराँस खासमा । नर्वेमा विभिन्न खालका गुराँस पाइँदो रहेछ । ओस्लोका गल्ली गल्लीमा, सडकमा, व्यक्तिगत बगैँचामा , सार्वजनिक पार्कहरुमा गुराँस देखिन्छ । जुनमा पनि प्रशस्त फुलेको पनि देख्न पाइयो । ओस्लो विश्वविद्यालयको वनस्पति उद्यानमा त विभिन्न थरिका गुराँस पाइए तर रातो गुराँस भने देखिएन । बैजिनी रङको गुराँस पनि देखियो, गुलाबी रङको पनि देखियो ।

बर्गेन भन्ने ठाउँमा गुराँसको घना जङ्गल जस्तै छ भन्ने कुरा विभिन्न श्रोतमा पाइन्छ । केही गुराँसका फूलहरु र फूल झरेपछिका पोथ्राहरुको केही तस्बिरहरु यहाँ राखिएका छन् । हामीले नेपालमा मझ्यौला उँचाइँका रुखका रुपमा देखिने गुराँस र गुराँसका फूलको स्वरुपमा पनि भिन्नता देखिन्छ ।