नर्वेको भलिबल प्रतियोगिता —अनुपम र उदाहरणीय कार्यक्रम


हरेकपल July 23, 2019

-विशेष सम्वाददाता-

ओस्लो, नर्वे—नेपाली जन सम्पर्क समिति, नर्वेले पोहोर परारझैँ यसपालि पनि जे एस एस रनिङ कप भलिबल टुनामेन्ट अर्थात् भलिबल प्रतियोगितामार्फत् नर्वेमा रहेका नेपालीहरुका बिचमा सहकार्य गर्दै हार्दिक सम्बन्ध स्थापित गरेको छ । नर्वेमा रहेका सम्पूर्ण नेपालीहरुले महोत्सवका रुपमा मनाएको र विभिन्न टिममार्फत् खेलिएको भलिबल खेलले नेपालीहरु जहाँ गए पनि आपसमा मिलेर बस्न सक्छन् र मिलेर नै स्वस्थ प्रतिस्पर्धामार्फत् आफ्ना खेलको सिप विकास पनि गर्न सक्छन् भन्ने अनुपम उदाहरणसमेत प्रस्तुत गरको पाइन्छ । २१ जुलाई अर्थात् साउन ५ गते ओस्लोको सोङ्सभानमा नेपालीहरुका बिचमा आपसी भेटघाट र भलिबल खेलमार्फत् मनोरञ्जनका साथै स्वस्थ प्रतिस्पर्धाका आधारमा खेल जित्ने टिमलाई आकर्षक पुरस्कारसमेतको व्यवस्था गरिएको थियो ।

पुरुषहरुको ८ टिम र महिलाहरुको ३ टिमका बीचमा कडा प्रतिस्पर्धा रहेको थियो । पुरुष टिमहरुमध्ये नेपालिज पुर्तगिज सोसाइटी—नेपोस, नर्वेले अत्यन्त प्रतिस्पर्धात्मक खेलमा एभरेस्ट इद्रेत्स्लाग वा एभरेस्ट स्पोर्ट्स् क्लबलाई पराजित गरी प्रथम स्थान हासिल गरेको थियो । प्रथम हुने टिमलाई नर्वेली क्रोनर ५ हजार सहित रनिङ् कप र पदक पुरस्कारस्वरुप प्रदान गरिएको थियो । यसैगरी प्रतियोगितामा दोस्रो हुने एभरेस्ट इद्रेत्स्लागलाई पदकसहित नर्वेली क्रोनर ३ हजार पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी महिला भलिबल प्रतियोगितामा प्रथम हुने हेल्पिङ ह्यान्डस् फर नेपाल टिम, नर्वेलाई रनिङ कपसहित पदक तथा क्रोनर २ हजार पुरस्कार प्रदान गरिएको थियो भने दोस्रो हुने जे एस एस टिमलाई पदकसहित क्रोनर १ हजार २सय पुरस्कार प्रदान गरिएको थियो ।

करिब एक महिनादेखिको अनवरत अभ्यास र मिहिनेतबाट सम्पन्न भलिबल प्रतियोगितालाई सम्पन्न गराउन नेपाली जनसम्पर्क समिति, नर्वेले उपाध्यक्ष कवीन्द्र ढकालको संयोजकत्वमा समिति बनाएको थियो ।

चौथो भलिबल प्रतियोगिताको पुरस्कार प्रदान गर्ने समारोहको अध्यक्षता नेपाली जन सम्पर्क समिति, नर्वेका अध्यक्ष जीतेन्द्र विक्रम शाहीले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि गैर आवासीय नेपाली संघ, नर्वेका २०१७—१९का अध्यक्ष सञ्जीव थापा हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा प्राध्यापक डाक्टर विशाल सिटौला , हरिविनोद अधिकारी हुनुहुन्थ्यो ।

प्रमुख अतिथि थापाले नेपालीहरुले यसरी आपसमा मिलेर काम गर्ने र खेलको माध्यमबाट आपसमा सम्बन्ध सुधार गर्ने बानीले हाम्रा बीचमा सदैव एकता कायम भइरहेन बताउनु भयो र प्रत्येक वर्ष यस्तो सकारात्मक काम गर्ने नेपाली जन सम्पर्क समिति, नर्वेलाई धन्यवाद दिनु भएको यियो । यसैगरी विशिष्ट अतिथि प्राध्यापक सिटौलाले नेपालीहरु जहाँ भए पनि मिलेर बस्ने र यसरी खेलको माध्यमबाट नेपालीहरुका बीचमा आत्मीय सम्बन्ध बढाउन गरेको प्रयासप्रति खुसी व्यवत गर्दै हामी जहाँ भए पनि नेपाल आमाको जय भन्नु पर्छ भन्दै सबैलाई नेपाल आमाको जय भन्न लगाउनु भयो । यसैगरी अर्का अतिथि नेपाल शिक्षक संघका संस्थापक सचिव हरिविनोद अधिकारीले आफू नेपालीहरुले यसरी प्रवासमा पनि मिलेर काम गरेको देख्दा गौरवान्वित भएको महसुस गरेको बताउनु भयो । बीपी स्मृति तिथिमा भएको यस किसिमको सकारात्मक क्रियाकलापले नेपालीहरुमा अरु प्रगाढ सम्बन्ध बढ्ने आशा व्यक्त गर्नुभयो । सो अवसरमा अध्यक्ष जीतेन्द्रविक्रम शाहीले यसप्रकारको वृहत् कार्यक्रममा खेलेर सहयोग पु¥याउनु हुने खेलाडी साथीहरु, आर्थिक तथा अन्य सहयोग गरेर कार्यक्रम सफल पार्नका लागि खट्ने सबै साथीहरुलाई धन्यवाद दिनु भयो । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोज कवीन्द्र ढकालले गर्नु भएको थियो भने कार्यक्रमको आर्थिक संयोजन कमल खनालले गर्नु भएको थियो ।

पुरस्कार समारोहमा रेफरीहरुलाई, बेस्ट प्लेयर पुरुष तथा महिलालाई पनि प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।

यस कार्यक्रमको सबैभन्दा महत्वपूर्ण विशेषता के थियो भने ओस्लोमा मात्र होइन, नर्वेका अन्य भागमा रहेका नेपालीहरुको पनि सहभागिता थियो र कुनै पनि विभेदविना कार्यक्रममा सबैको सहभागिता उत्साहजनकरुपमा रहेको थियो । स्मरणीय छ, नेपाली जन सम्पर्क समिति , नेपाली काँगे्रसको भ्रातृ संगठनको रुपमा रहेको सँस्था हो। तर नर्वेमा सबै नेपालीहरुले राजनीतिक पूर्वाग्रह विना एक अर्कालाई सहयोग गरी कार्यक्रमहरु सम्पन्न गर्ने सँस्कार रहेकोमा प्रशंसनीय छ भन्ने पर्यवेक्षहरु ठान्दछन् । नर्वेमा रहेका सबैजसो सामाजिक सँस्थाहरु र राजनीतिक सम्बन्धन सँस्थाहरुले सक्रिय सहभागिता राखेका थिए , सामाजिक रुपमा या आर्थिक रुपमा या खेलमा सक्रियता देखाएर ।