दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये दुईको सनाखत


हरेकपल July 25, 2019

लमजुङ, ९ साउन  । दोर्दीखोला बाढीमा परेर मृत्यु भएका मध्ये दुईको सनाखत भएको छ । बुधबार दिउँसो दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये दुईको शवको सनाखत आज भएको हो । ती शव पर्सा जिल्ला घर भएका शिवधन चौधरी र डडेलधुरा घर भएका रमेश बुढाको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताउनुभयो । उहाँका अनुसार दुई शवको अझै सनाखत हुनसकेको छैन । सनाखत भएको दुई शव दोर्दी गाउँपालिका–४ नौथर शेरामा भेटिएको थियो । एक जनाको शव नौथर शेरा नजिकै र एक जना कीर्तिपुरमा गरी चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

बाढीमा परी आठ घाइते भएका छन् । घाइतेको टाउको, ढाड, खुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । घाइतेको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु विभिन्न जिल्लाको रहेको प्रहरीको भनाइ छ । सात जना भने अझै बेपत्ता रहेको र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीलगायतले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

शव भेटिएका, घाइते र बेपत्ता भएका सबै सोही गाउँपालिकास्थित दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा काम गर्ने कामदार रहेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । बेपत्तामध्ये एक जना भने आयोजनाको सम्पर्कमा आएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिनुभयो । चारवटै शव परीक्षणका लागि बेँसीशहरको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ । रासस