धर्मको सञ्चय किन आवश्यक छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल July 26, 2019

अनित्यानि शरीराणि विभवो नैव शाश्वतः ।
नित्य सन्निहितो मृत्यूः कर्तव्यो धर्मसंग्रहः ।। – नीति श्लोक

यो शरीर अनित्य छ, धन पनि यो जीवनका लागि मात्र हो, यसैगरी मृत्यु पनि जीवनमा निश्चित छ । यी सबै अनित्य हुन् । धर्म नै नित्य भएकाले सधैँ धर्मको सञ्चय गर्नुपर्दछ ।

संसारमा नित्य र अनित्य दुई वस्तु विद्यमान छन् । हामी नित्य भन्दा पनि अनित्य वस्तुमा बढी आकर्षित भइरहेका छौँ । जो सर्वथा गलत छ । शरीरको अति लोभ गर्नु व्यर्थ छ किनकि यो अनित्य वस्तु हो । एक दिन सकिएर जान्छ । यसैगरी हामी धन भएपछि सबथोक भयो भन्ने पनि ठान्ने गर्दछौँ । जो पनि अनित्य नै हो । संसारमा नित्य र साश्वत भनेको धर्म नै । धर्म भनेको परोपकार र सत्कर्म हो । त्यसैले धन भन्दा पनि धर्मको आर्जनले जीवनलाई सफल बनाउँछ । किनकि धर्म नित्य वस्तु हो । यो जीवनमा आर्जन गरेको धर्म जन्मजन्मान्तर अर्थात् अर्को जुनिसम्म पनि रहने वा फलभोग गर्न पाइने भएकाले जीवनका धर्मको सञ्चय गर्नुृपर्दछ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला –