काँग्रेस केन्द्रीय समिति बैठक आज पनि सानेपामा बस्दै


हरेकपल July 26, 2019

काठमाडौं, १० साउन । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय सानेपा ललितपुरमा दिँउसो बस्ने बैठकमा हिजो प्रवेश गराइएका विषयमा छलफल हुने केन्द्रीय सदस्य चन्द्र भण्डारीले बताउनुभयो ।

केन्द्रीय कार्यसमितिमा अन्तरिम संरचना र १४ औं कार्यतालिकाबारे छलफलका लागि हिजो प्रस्ताव गरिएको थियो । हिजो बैठकको सुरुमा नै महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यहरूको तथ्याङ्क नयाँ संरचनाअनुसार नभएको र क्षेत्रीय प्रतिनिधिहरूको तथ्याङ्क केन्द्रीय कार्यालयसँग नरहेकोभन्दै ध्यानाकर्षण गराउनुभएको थियो । पार्टी मातहतका विभाग र भ्रातृ संस्थाको बारेमा पनि निर्णय गर्नेगरी बैठकमा प्रस्ताव भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा हिजाे बसेको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले सो विषयमा आ–आफ्नो विचार व्यक्त गरेकाे कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे । यस अघिको बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठन पश्चात १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धी कार्यसूची पेश गरिएको थियो ।

हिजाेको बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गर्नुभएकाे थियाे ।