सत्तारुढ नेकपा भागबन्डामा व्यस्त, नेपाली कांग्रेसमा महाधिवेशनको चर्चा


हरेकपल July 26, 2019

काठमाडौं, १० साउन । सत्तापक्ष आफ्नै पार्टीभित्रको भागबन्डामा रुमल्लिइरहेका वेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा मुलुकको वर्तमान परिस्थितका अलावा आफ्नै पार्टीको महाधिवेशनको तयारी चलिरहेको छ ।

जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार पनि आगामी महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल भएको छ । बिहीबारबाट कांग्रेसमा विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल सुरु भएको छ ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले संघीय संरचनाअनुसार विस्तारका क्रममा सहमति गर्ने वा निर्वाचन प्रक्रियामा जाने भन्ने विषयमा आ–आफ्ना धारणा राखिरहेका छन् । सभापति शेरबहादुर देउवा पक्षधर केन्द्रीय सदस्यहरुले सहमतिमै रिक्त संरचनालाई पूर्णता दिनुपर्नेमा आवाज उठाएका छन् भने संस्थापनइतरका सदस्यहरुले भने विधानअनुसार संक्रमणकालीन व्यवस्थाअनुसार रिक्त संचरनामा पदपूर्ति गर्नुपर्नेमा जोड दिएका छन् ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले शीर्ष नेताले केन्द्रमा सहमति गरेर तल्लो तहमा समिति बन्न नसक्ने जिकिर गर्दै पार्टीका रिक्त संरचनाहरु गठनका लागि विधानले गरेको व्यवस्था अनुरुप नै हुनुपर्नेमा जोड दिएका छन् । व्यवस्था प्रयोग चाहने हो भने ६ महिनाभित्रै संक्रमणकालीन व्यवस्था प्रयोग गरेर तलका संरचना निर्माण गर्नुपर्ने उनको सुझाब छ ।

तर, केन्द्रीय सदस्य एनपी साउदले भने ६ महिनामा निर्वाचन गरेर रिक्त संरचना विस्तार गर्दा विधानले निर्धारण गरेको मितिमा आगामी महाधिवेशन गर्न सम्भव नहुने दाबी गर्दै सहमतिमै काम गर्नुपर्ने धारणा राखे ।

केन्द्रीय सदस्य धनराज गुरुङले केन्द्रीय कार्यसमिति बैठक सकिएलगत्तै तत्कालीन दुई सय चार निर्वाचन क्षेत्रलाई आधार बनाएर क्रियाशील सदस्यता वितरण गर्नुपर्ने र महाधिवेशनको मिति तोकिनुपर्ने धारणा राखेका छन् ।

‘संक्रमणकाल भनेर बस्यौँ भने वैधानिक अड्चन पनि छन् । लोकतान्त्रक फोरम कांग्रेसमा विलय भएको छ,’ उनले भने, ‘उसलाई किनारामा टुलुटुलु हेरेर बस् भन्दै हामी चुनाव लड्न मिल्दैन । अहिले नै महाधिवेशनको मिति तोकौँ ।’

गत महाधिवेशनमा सभापति पदका लागि प्रत्याशी बनेका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनको तयारीका बारेमा पदाधिकारीको धारणा माग गरेका छन् । उनले पदाधिकारीहरुको प्रस्ताव आइसकेपछि त्यो प्रस्ताव कति स्वाभाविक छ, त्यसअनुसार अगाडि कुरा गर्न सकिने बताए ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. मीनेन्द्र रिजाल, एनपी साउद, जीवनबहादुर शाही, धनराज गुरुङ, महेन्द्र यादव, बद्री पाण्डे, प्रदीप पौडेल, पार्वता डीसी चौधरी, श्यामकुमार घिमिरे र रामकृष्ण यादवले आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।

अर्को बैठक साउन १२ गते आइतबार दिउँसो १ बजे पुनः बस्ने गरी कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठक सकिएको छ ।