पलेर्मो प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


हरेकपल July 29, 2019

साउन १३, काठमाडौँ । मानव वेचविखान तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा महिला कानून र विकास मञ्च (एफडब्लुएल्डी) ले आज पलेर्मो प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । अन्तर्देशीय संगठिात अपराध विरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धि (पलेर्मो प्रोटोकल)को मानव विशेषगरी महिला तथा बालबालिकाहरूको बेचविखनलाई रोक्ने, दवाउने र सजाय गर्ने परिपूरक उपलेख २००० कार्यान्वयनका लागि गर्नुपर्ने कार्यका बारेमा उक्त अन्तरक्रिया केन्द्रित रहेको थियो ।

हाल नेपाल पनि अन्तर्देशीय संगठित अपराध विरूद्धको संयुक्तराष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरिसकेकाले सदस्य राष्ट्र भएको र अब यस्ता संगठित अपराध रोकिने नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सहसचिव कौशल चन्द्र सुवेदीले बताए ।


कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । अन्तर्देशीय संगठित अपराध कसरी हुन्छ ? विशेषतः महिला र बालबालिका यसको सिकार कसरी हुन्छन् ? तिनको कानुनी व्यवस्था र निराकरणका बारेमा कार्यक्रम केन्द्रित रहेको थियो ।

हाल आएर मानव अंग वेचविखनका साथै श्रमशोषणमा पनि अन्तर्राष्ट्रिय अपराध बढेको भन्दै यसको निराकरणका निम्ति पलेर्मो प्रोटोकल उपयोग हुने धारणा महिला कानून र विकासमञ्च कार्यकारी निर्देशक सविन श्रेष्ठले राखे ।  साथै उनले भने – ‘सन् २००० को संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनसम्बन्धी सन्धिमा नेपाललाई हस्ताक्षर गर्न सिफारिस गरिएको छ र यसो गरेमा नेपालले मानव बेचबिखनविरुद्धको आफ्नो प्रतिबद्धतासम्बन्धी बलियो सन्देश प्रवाह गर्नेछ, पलेर्मो प्रोटोकल समेत भनिने उक्त राष्ट्रसंघीय सन्धिलाई विश्‍वका १ सय ७३ मुलुकले अनुमोदन गरिसकेका छन् ।’ यसैगरी यस सम्बन्धी कानूनी प्रावधानबारे अधिवक्ता रोसना प्रधानले प्रकाश पारिन् । उनले भनिन् – ‘न्यूनतम मापदण्डको पूर्ण पालना भइनसकेको तर उक्त मापदण्डको पालनातर्फ उल्लेखनीय प्रयत्न गरेको मुलुकका रुपमा नेपाललाई मूल्यांकन गरिएको छ ।’

महिला कानून र विकास मञ्च, युएस उड, युके एड, विनरकले सो कार्यक्रमको संयुक्त रूपमा आयोजना गरेका थिए ।