सरकारी जग्गा अतिक्रमण गर्नेलाई नछोड्ने प्रधानमन्त्रीको प्रतिबद्धता


हरेकपल July 30, 2019

काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री ओलीले उक्त भनाई राखेको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले अहिले भ्रष्टाचारीहरु धमाधम पक्राउ परिरहेको बताए । ‘सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो । भ्रष्टाचारमा संलग्नलाई सानो ठुलो भनेर हेरिदैन। सबैलाई कारबाही हुन्छ ।’

प्रधानमन्त्री ओलीले सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताए। विभिन्न ठाउँमा अतिक्रमण भएका र भू– माफियाले कब्जा गरेका सरकारी जग्गाहरु पनि सरकारले विधि पुर्‍याएर फिर्ता लिने प्रधानमन्त्री ओलीको  भनाइ छ।

‘ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानविन थालेको हो । तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरु कराइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यो भन्दा अघिका सरकारहरु के हेरेर बसेका थिए ? त्यति बेला सरकारमा बसेका मान्छे नै अहिले ठुला ठुला कुरा गर्छन् ।’

प्रतिनिधि मण्डलले बाग्लुङको गल्कोटमा इलाका प्रसाशन कार्यलय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष माग  गर्दै एक ज्ञापन पत्र पनि बुझाएको छ । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले जनतालाई सहज रुपमा सेवा दिने आफ्नो नीति  भएकोले इलाका प्रसाशन कार्यलय स्थापना गर्न आफू सकारात्मक रहेको बताए ।