योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त


हरेकपल July 31, 2019

काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद्को विस्तार गर्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता योगेश भट्टराइलाई नियुक्त  गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालय तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्री केपी ओलीले सम्हाल्दै आएका थिए ।

काे हुन् भट्टराई

नेकपाका युवा नेता योगेश भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो । उनको बुबाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो । उनले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका छन् ।

नेता भट्टराईले स्कूल पढ्ने बेला झापा विद्रोहको समय थियो । ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि स्कूल पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । परिवारका सदस्यहरु पनि बामपन्थी पृष्ठभूमीकै थिए। यही क्रममा उनले २०३७ सालमा अनेरास्ववियुको राजनीति थालेका थिए ।