प्रतिनिधिसभाको बैठक आज २ बजे बस्दै


हरेकपल August 1, 2019

काठमाडौं, १६ साउन । संघिय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । काँग्रेस र राजपाको विरोधका कारण निरन्तर अवरुद्ध हुँदै आएको संसद बैठक आज २ बजेका लागि बोलाइएको छ । संसद सचिवालयले बैठकको लागि सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । आजको बैठकमा विभिन्न प्रतिवेदनहरु पेश हुनेछ ।

संसद सचिवालयकाअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले “भूउपयोग विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले “जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्र्नुुहुनेछ ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुहुनेछ । “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पनि पेश गर्ने कार्यक्रम छ ।

आजैको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रशासकिय अदालत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुहुने कार्यक्तम छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले “वातावरण संरक्षण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुहुनेछ ।

यस्तै, आजैको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले “प्रहरी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।