दलहरुबीच सहमति नजुटेपछि संसद बैठक २० गतेसम्मका लागि स्थगित


हरेकपल August 1, 2019

काठमाडौं, १६ साउन । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित भएको छ ।

संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बैठक सूचना टाँसेर साउन २० गतेसम्मका लागि स्थगित गरिएको छ।

सर्वदलीय बैठकमा दलहरु सदन सुचारू गर्नेमा सकारात्मक भए पनि आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको हो। सचिवालयले टाँसेको सूचनामा भनिएको छ, ‘अवरुद्ध सदन सुचारु गर्न दलहरुबीच छलफल जारी रहेकाले बस्न नसक्ने हुँदा बैठक स्थगित गरिएको छ।’

सर्बदलीय बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा मुख्य सचेतक देव गुरूङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँण, नेता मिनेन्द्र रिजाल, राजपाका तर्फबाट राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण लगायत उपस्थित थिए।