संघीय सरकारले अधिकार नदिएको भन्दै प्रदेश २ सरकारद्वारा मुद्दा दायर


हरेकपल August 1, 2019

काठमाडौं, १६ साउन । संघीय सरकार र प्रदेश सरकारबीच अधिकारका विषयमा चुलिएको असन्तुष्टि सतहमा आएको छ । सात प्रदेशमध्ये ६ प्रदेशमा नेकपाको सरकार छ भने प्रदेश नं २ मा समाजवादी पार्टी र राजपाको संयुक्त सरकार छ ।

अन्य सरकारले पनि असन्तुष्टि नजनाएको होइन, तर प्रदेश नं २ ले पहिलेदेखि नै प्रस्ट रूपमा असन्तुष्टि पोख्दै आएको छ । अहिले भने प्रदेश २ सरकार संघीय सरकारविरुद्ध सर्वोच्च अदालत गएको छ ।

संविधानअनुसार अधिकार नदिएको भन्दै प्रदेश २ सरकारले संघीय सरकारविरुद्व मुद्दा दायर गरेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार सर्वोच्चमा मुद्दा दायर गरेको हो ।

संविधानअनुसार राष्ट्रिय वनको संरक्षण र व्यवस्थापनको अधिकार प्रदेश सरकारको भएको तर सोही राष्ट्रिय वनको रूपमा रहेकोे सागरनाथ वन विकास परियोजनालाई संघीय सरकारले बलजफ्ती कम्पनीमा रुपान्तरण गरी आफ्नो मातहतभित्र ल्याउन खोजेको मुद्दा दायरकर्ता मन्त्रालयको दाबी छ ।

दायर गरिएको मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाइएको छ । दायर रिटमा उत्प्रेषण, प्रतिषेध र परमादेशसमेत माग गरिएको छ ।

मुद्दामा शुक्रबार बहस हुने भएको छ । नेपालको सन्दर्भमा प्रदेश सरकारले संघीय सरकारविरुद्व मुद्दा दायर गरेको यो पहिलो घटना हो ।