राती १२ बजे घाम लाग्ने देशको कथा-७


हरेकपल August 2, 2019

-हरिविनाेद अधिकारी-

बर्लिन । युरोपको भ्रमणका लागि ओस्लोबाट जानु थियो, गइयो जर्मनीको बर्लिन । बर्लिनका वारेमा नेपालमा पनि थाहा भएकै कुरा हो , पहिले बर्लिनमा पर्खाल लगाइएको थियो जर्मनीको विभाजन गर्नका लागि । त्यसबेला जर्मनी पश्चिम र पूर्वी भयो । यो घटना दोस्रो विश्वयुद्धपछिका हो ।

पश्चिम जर्मनी प्रजातान्त्रिक देशको रुपमा रह्यो र पूर्वी जर्मनी कम्युनिस्ट देशको रुपमा रह्यो । पश्चिम जर्मनी अमेरिकी खेमामा रह्यो भने पूर्व जर्मनी सोभियत संघको धारमा रह्यो । त्यही बेलातिर नै १९६१मा जर्मनीकै व्यवस्थापिका बुन्डेस्टागकै सीमामा पर्खाल लगाएको रहेछ । बर्लिनलाई पूर्वी बर्लिनले घेरेको रहेछ , भनौ पर्खालले घेरेको रहेछ । पछि १९८९मा पूर्वी जर्मनीका कम्युनिस्ट विरोधी जनताले पर्खाल भत्काए । दोस्रो विश्वयुद्धको घाउलाई जर्मन जनताले पर्खाल भत्काएर मलम लगाए ।

त्यो बेलादेखि नै हिटलरको चरम यातना सहेका जर्मनहरुले उसैको गलत परिणामस्वरुपको दोस्रो विश्वयुद्धको दुःखद सपनालाई कडा परिश्रम गरेर र विकास गरेर पश्चिम जर्मनी विकसित देशको रुपमा रह्यो तर सोभियत संघको छातामा गएको जर्मनीको मुटु काटेर बनाएको पूर्वी जर्मनी अविकसित र भोका नाङ्गाको देश भयो ।

पर्खाल भत्काएर बहादुर जर्मनहरुले आफ्नो देश फेरि एकीकरण गरे र अहिले एउटै देशको रुपमा विकसित भइरहेको छ । आधुनिकीकरणको सकारात्मक रुपको चरम प्रयोग छ चौतर्फीरुपमा । झन हिटलरको राष्ट्रवादी नाराभित्र लुकेको तानासाही चरमरुपमाले एकै पटक धेरै शत्रुहरुको सामना गर्दा ध्वस्त पारेको जर्मनीका मानिसहरु हिटलरलाई सम्झन पनि चाहँदैनन् । कसैले सार्वजनिक स्थानमा हिटलरको नाम लियो भने पनि त्यसलाई प्रहरीले समाएर फौजदारी मुद्दा लगाउँछ जुन मुद्दाको विपक्षमा कुनै पनि वकिलले वकालतनामा समेत भर्दैनन् ।

एउटा उदाहरणको रुपमा सुनियो—एकजना ठूला व्यापारीका रुपमा सम्मानित भारतीय महाशयले तिहारको लक्ष्मी पूजाका दिन आफ्नो निजी घरको आँगनमा षट्कोण बनाएर पूजा गरेछन् या लक्ष्मी घरभित्र जाने बाटोको रुपमा षट्कोण बनाएछन् जुन बाहिरबाट देखिन्थ्यो । कसैले खबर गर्यो या पुलिसले देख्यो , थाहा छैन । उनलाई मुद्दा चल्यो, दण्डित हुनुपर्यो । अर्थात् मुलुकको हितमा काम नगर्ने कुनै पनि शासकका बारेमा ।


यो तर्कपूर्ण अपमानको अर्थ छ र झन तानासाहहरुको पक्षमा बोल्नेहरुलाई दिइने छुटले मुलुक फेरि कुन अवस्थामा पुग्ला भनेर जर्मनहरु सचेत छन् र त सार्वजनिकरुपमा हिटलरको पक्षमा भाषण गर्नु त कता हो कता, नाम लिन पनि नपाइने कानुन छ ।

मुलुकलाई सचेत र दूरदृष्टि भएका शासकहरु फ्रेडरिक एबर्ट , बिली ब्रान्ट जस्ता शासकहरुले शासन गर्दा समाजवादी प्रजातन्त्रलाई यसरी दरिलोरुपमा खडा गरे कि जो सत्तामा आए पनि सामाजिक न्यायमुखी शासन प्रणालीलाई कसैले पनि पन्छाउन सक्दैन ।  यस सम्बन्धी अरु सामग्री पछि कुनै बेलामा ।

अहिले जर्मनीमा मुख्य कार्यालय रहेको अटोटेक नामक बहुदेशीय र विश्व प्रतिष्ठित कम्पनी त्यही बर्लिनमा छ । त्यही बर्लिनमा काम गर्ने एकजना नेपाली युवा रसायन वैज्ञानिक डाक्टर हिमेन्द्र झासँगको कुराकानी ।

साथै उहाँकी धर्मपत्नी वातावरण वैज्ञानिक डाक्टर रानी झा ठाकुरसँगको सामान्य कुराकानी सहित ।सप्तरीको राजविराजको एउटा मध्यम वर्गीय परिवारका , पेसाले स्वास्थ्यकर्मी योगेन्द्र झा र उर्मिलादेवी झाको परिवारमा २०३४ साल पुसको २ गते हिमेन्द्रको जन्म भयो तत्कालीन नुवाकोट तर अहिले धादिङमा पर्ने गाउँमा । नुवाकोट , धादिङ र राजविराजमा सम्मानका साथ डाक्टर साहेब निने योगेन्द्र झाजीको केही समय पहिलेमात्र स्वर्गारोहण भएको छ । माता उर्मिला झा अहिले पनि पुस्तेनी घर राजविराजमा हुनुहुन्छ ।

सामान्यरुपमा प्राथमिक विद्यालयको शिक्षा नुवाकोट, राजविराजमा भयो भने माध्यमिक तहको पछिल्लो पढाई सर्लाहीको हरिउनस्थित चतुर्भुजेश्वर माविमा भयो । त्यसपछिको जनकपुरबाट विज्ञानमा प्रवीणता पत्र तहको उपाधि प्राप्त गरेपछि स्नातक तह अमृत साइन्स कलेजमा पढेर त्रिभुवन विश्वविद्यालय परिसरको रसायन शास्त्र विभागबाट स्नातकोत्तर उपाधि हासिल गर्नुभयो । त्यसपछि होकाइडो विश्वविद्यालयबाट मेटेरियल साइन्सको न्यानो टेक्नोलोजीमा एम फिल तथा विद्यावारिधि गरे पछि पहिलो पोस्ट डक्टरेटका लागि जर्मनीको न्युरम्बर्ग विश्वविद्यालयमा सोलर इनर्जी कन्भर्जनमा र दोस्रो पोस्ट डक्टरेट म्युनिखको टीयु विश्वविद्यालयबाट इलेक्ट्रो मोबिलिटीमा गर्नुभयो जुन ब्याट्रीसँग सम्बन्धित हुने रहेछ ।

त्यसपछि उहाँ विश्वव्यापी प्रतिस्पर्धामा अटोटेक कम्पनीमा वैज्ञानिकका रुपमा छानिनु भयो । उहाँको विचारमा विश्वव्यापी प्रतिस्पर्धामा हामी नेपालीहरु पनि नछानिने त पक्कै होइन, आफूसँग क्षमता हुनुपर्छ , नेपालीले गर्न नसक्ने केही पनि छैन । जब मैले सोधेँ—नेपाल नजाने ? उहाँले भन्नुभयो—किन नजाने ? जाने नि । मैले त कहिल्यै पनि विदेशमा बस्ने कल्पनासम्म गरेको छैन र नेपालको नागरिकता त्याग्ने कुरा त सपनामा पनि सोचेको छैन । तर मैले सिकेको कुराले यहाँ नै प्रयोग गर्न पाएको छु जसले विश्वव्यापीरुपमा मानव जातिकै सेवा गरेको छ । केटाकेटीहरुको शिक्षा दीक्षाचाहिँ यतै गराउने विचार छ । दुईओटी छोरीहरु राहिनी र हिमानीका पिता डाक्टर झा छोरीहरुले नेपाली र मैथिली नसिक्ने भए भन्नेचाहिँ लागेको बताउनु हुन्छ । तर उहाँले नै दिएको जानकारीअनुसार नेपाली समुदायले विदाका समयमा नेपाली भाषा र सँस्कृत सिकाउने व्यवस्था भएको पनि बताउनु हुन्छ किनभने बर्लिनमा नै नेपाली राजदूतावास छ ।

मलाई झट्ट ओस्लोकोनर्वेजियन युनिभर्सिटी अब लाइफ साइन्सेजका आदरणीय प्राध्यापक डाक्टर विशाल सिटौलाको भनाइ याद आयो । वातावरण वैज्ञानिकका रुपमा नर्वे जस्तो देशमा समेत नाम कमाउनु भएका वैज्ञानिक सिटौला भन्नुहुन्छ—ब्रेन ड्रेन कहिले पनि हुँदैन, बरु ब्रेन सेयरिङ् गर्ने कुरा महत्वपूर्ण हो । हामी नेपालीहरु जहाँ भए पनि आफूले जानेका कुराहरु प्रयोग गर्छौँ, दुनियाँमा त्यसको प्रचार हुन्छ र मानव जातिकै कल्याण हाम्रो अनुसन्धानले काम गरिरहेको हुन्छ ।

त्यही कुरा ठ्याक्कै युवा वैज्ञानिक झाले पनि भन्नुभयो । झा भन्नुहुन्थ्यो—वातावरण बिग्रियो भनेर हामी डिजेलको या पेट्रोल या ग्याँसको विकल्प खोज्छौँ, विद्युतीय वाहनमा पनि जुन ब्याट्रीको प्रयोग हुन्छ, राम्रो सँग त्यसको व्यवस्थापन र संयोजन गर्न सकिएन भने झन खतरा हुन्छ, मेरो त विषय नै त्यही हो ।

युवा वैज्ञानिक डाक्टर हिमेन्द्र झासँग मेरो कुराकानी सुन्नुहोस्

 

श्रीमती रानी झा, उहाँकी धर्मपत्नी रानी झा ठाकुरले बीएस्सी रसायन शास्त्रसम्मको शिक्षा भारतको दरभङ्गामा प्राप्त गर्नु भएको थियो भने वातावरण विज्ञानमा एम एस सी, एम फिल तथा विद्यावारिधि होकाइडो विश्वविद्यालय जापानमा गर्नुभएको थियो । उहाँको अनुसन्धानको विषय थियो—कोयलालाई कसरी प्रशोधन गरेमा वातावरणलाई हानि पु¥याउँदैन । उहाँसँग मैले जब सोधेँ—दुवैजना वैज्ञानिकका रुपमा रहँदा कसरी परिवार समाल्नु हुन्छ ? रानी झाको भनाइ थियो—अहिले म बच्चीहरु हुर्काउने काम गर्छु र उहाँलाई आफ्ना क्षेत्रमा उच्च अध्ययनशील बनाउन सहयोग गर्छु । बच्चीहरु स्कुल जान थालेपछि अद्यावधिक गरेर भारत, चीन, अस्ट्रेलिया, न्युजील्यान्ड, क्यानाडामा काम खोज्ने विचार गर्दैछु किनभने नेपालमा पनि त्यसको राम्रो व्यवस्था छैन, जर्मनीमा त झन कोइलाको चलन छँदैछैन ।

सन् १९७९ अगस्त ८ तारिखमा पिता राजकुमार ठाकुर र माता भवानी ठाकुरकी छोरीको रुपमा दरभङ्गामा जन्मनु भएकी रानी झाले सेप्टेम्बर २०१०मा होकाइडो विश्वविद्यालय, जापानबाट गरे पनि पति डाक्टर हिमेन्द्र झा पोस्ट डक्टरेट पनि जर्मनीमै वैज्ञानिकका रुपमा अटोटेकमा छनोट हुनुभएपछि आफू पनि जर्मनीमा आएको र नानीहरु भएपछि यतै बसेको बताउनु हुन्छ ।  वातावरण वैज्ञानिक डाक्टर रानी झा चित्रकलामा पनि त्यस्तै सोखिन हुनुहुन्छ । हस्तकलामा पारङ्गत झाका केही चित्रहरु यहाँ पनि दिइएको छ ।