इतिहासमै पहिलोपटक सहकारीमा ब्याजदर तोकियाे, १६ प्रतिशतभन्दा धेरै लिन नपाइने


हरेकपल August 2, 2019

काठमाडौं, १७ साउन । सहकारीको इतिहासमै पहिलोपटक सहकारीमा सन्दर्भ ब्याजदर तोकिएको छ । यो साउन १९ गते अर्थात् आगामी आइतबारदेखि लागू हुने बताइएको छ।

सहकारी विभागले बचत तथा ऋणको सन्दर्भ ब्याजदर (रिफ्रेन्स इन्ट्रेस्ट रेट) तोकेको हो । सहकारीमा सन्दर्भ ब्याजदर निर्धारण सम्बन्धी समितिको हिजो बसेको चौथो बैठकले कर्जामा अधिकतम १६ प्रतिशत र बचतमा १० प्रतिशत ब्याजदर तोकेको हो। हाल सहकारी संस्थाल बचतमा १८ प्रतिशतसम्म र ऋण लगानीमा २५ प्रतिशतसम्म ब्याज लिँदै आएका छन्।

विभागका रजिस्टार डा. टोकराज पाण्डेले सहकारी ऐन २०७४ को दफा ५१ तथा सहकारी नियमावली २०७५ को परिच्छेद ५ नियम २३ ले गरेको व्यवस्था बमोजिम सन्दर्भ ब्याजदर तोकिएको जानकारी दिएका छन् ।

यसरी तोकिएको सन्दर्भ ब्याजदर सहकारी संस्थाका लागि निर्देशक ब्याजदरका रुपमा रहने प्रावधान ऐनमा रहेको छ। सन्दर्भ ब्याजदर निर्धारण गर्दा बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आबद्ध संघ–संस्थाहरुको औसत ब्याजदर, सहकारी बैंकको ब्याजदर, वाणिज्य बैंकको औसत ब्याजदर लगायत विषयलाई आधार बनाउने बताइएको छ ।

सहकारी संस्थाहरुले कर्जामा महंगो ब्याज लिएको भन्दै आलोचना भइरहेको थियो । नेपाल राष्ट्र बैंकबाट नियमन हुने ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुमा पनि केही समयअघि ब्याजदरको सीमा तोकिएको थियो ।

लघुवित्तहरुले मनपरी ब्याज दिएको जनगुनासो बढेपछि राष्ट्र बैंक आफैंले कर्जामा १८ प्रतिशतमात्रै ब्याज लिन पाउने गरी ‘क्याप’ लगाएको थियो । सोही तरिकाले विभागले सहकारी संस्थाहरुको ब्याजदरमा क्याप लगाएको हो ।

ब्याजदर निर्धारण गर्दा बचतमा भारित औसत ब्याजदरभन्दा बढी तर ऋणमा भारित औसत ब्याजदरभन्दा कम र बचत तथा ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा कम हुने गरी सन्दर्भ ब्याजदर तोक्नुपर्ने व्यवस्था विनियमावलीमा छ। सन्दर्भ ब्याजदर तीन तीन महिनामा पुनरावलोकन गर्न सकिने व्यवस्था छ।