ताल फुट्दा, मध्यपहाडी लोकमार्ग बगायो


हरेकपल August 5, 2019

प्रदिप पन्त/बागलुङ, २० साउन । गत वर्ष बागलुको बडिगाड खोलामा पहिरोले थुनेर बनेको तुरतुरे ताल फुटेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग नजिकै रहेको उक्त ताल फुट्दा पानीको बहावले सडक बगाएपछि यातायात अवरुद्ध बनेको छ । गत वर्ष भदौंमा फहाड खसेर थुनिएको बडिगाड नदीमा बनेको ताललाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरी स्थानीय तहले काम अगाडि बढाइरहेका थिए ।

तत्कालिन समयमा तालको अध्ययन गर्न गएको विज्ञ टोलीले नदीमा ठूला ढुङ्गा आएर बसेकाले तत्काल ताल फुट्ने सम्भावना नभएको र फुटाउँन समय लाग्ने भन्दै त्यसै फर्किएको थियो । ‘तत्कालिन समयमा विज्ञहरु आएर तालको अवलोकन गरेपछि ताल फुट्ने सम्भावना छैन भनेर गएका थिए, हिजोको रातीको वर्षासँगै आएको बाढीले तुरतुरे ताल फुटेर तटिय क्षेत्रको सडक नै बगाएको छ ।’ एक स्थानीयले बताए । नदी नखुलाई पर्यटन क्षेत्रको रुपमा विकास भइरहेको उक्त तालमा स्थानीयले ¥याफ्टिङ सञ्चालन गरी नियमित आम्दानी गर्दै आइरहेका थिए ।

ताल खुल्दा पुष्पलाल मध्यपहाडी लोकमार्गको करिब १० मिटर सडक पूर्ण रुपमा बगाएको र करिब ५० मिटर सडक आंशिक रुपमा भत्काएको स्थानीय कमल पौडेलले जानकारी दिनुभयो । ‘माथिबाट पानीको बहाव बढ्दै जाँदा तालमा पानी भरिएर ताल फुटेको छ, नदी थुन्नेगरी गत वर्ष खसेका ठूला ठूला ढुङ्गाका कारण तल्लो क्षेत्रमा केही क्षती भएको छैन, ठूला ढुङ्गा भत्केको भए तालले भयावह स्थिति ल्याउन सक्थ्यो, ढुङ्गाको छेउछाउबाट पानीको बहाव बगेका कारण क्षती हुन पाएन ।’ पौडेलले भन्नुभयो ।

बागलुङका निमित्त प्रहरी प्रमुख झवेन्द्र प्रसाद भट्टराइले तालमा जम्मा भएको धेरै पानी बगिसकेकाले खतरामुक्त भएको जानकारी दिनुभयो । ताल फुटेर तल्लो भागमा पानीको बहाव बढेको भएपनि कुनैपनि मानवीय क्षती नभएको भट्टराईको भनाई छ । ताल फुटेर सडक बगाएको र ठाउँ ठाउँमा पहिरो खसेका कारण पुष्पलाल मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसैबीच राससका अनुसार,

जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी, देवेन्द श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा हराएका असारी र प्रवीणको शव केहीबेर अघि भेटिएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदमबहादुर नेपालीले जानकारी दिनुभयो । पञ्चकुमारीको शव भने बिहानै पहिरोबाट निकालिएको थियो ।

पहिरोमा परी सात जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये ओमबहादुर श्रीपालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारको लागि अन्यत्र पठाउने तयारी भइरहेको छ । पहिरोले पशु चौपायासहित भौतिक सम्पत्तिमा ठूलोे क्षति पुगेको छ ।

क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ । १५० मिटरमाथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पु¥याएको जनाइएको छ । अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा राहतमा कठिनाइ भइरहेको छ । उद्धारमा प्रहरी, जनप्रतिनिधिसहित स्थानीयवासी खटिएका छन् । गोरखापत्रबाट