सदनको अवरोध हट्यो, सर्वदलिय बैठकले गर्यो गतिरोध अन्त्य गर्ने सहमति


हरेकपल August 5, 2019

काठमाडौं, २० साउन । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका विपक्षी दलहरु सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठनको माग स्थगित गर्दै सदनको अवरोध हटाउन सहमत भएका छन् ।

संघिय संसद् अन्तर्गतको प्रतिनिधिसभाको केही दिनयता जारी गतिरोध अन्त्य गर्न राजनीतिक दलहरु सहमत भएका हुन्। आज संसद भवन नयाँ बानेश्वरको शंकर हलमा बसेको सर्वदलीय बैठकले वर्तमान गतिरोध अन्त्य गरी संसदलाई प्रभावकारी बनाउने सहमति गरेको छ। बैठकले पुन गतिरोध आउन नदिनका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति गरेको छ।

उक्त विशेष समितिमा को–को रहने भन्ने कुराको टुंगो भने लागिसकेको छैन। त्यसका लागि दलको सिफारिसका आधारमा सभामुखले संसदबाट सदस्यहरुको नाम पढेर सुनाउँने छन्।

यसअघि सर्लाहीमा प्रहरीबाट मारिएका विप्लव समूहका कुमार पौडेलको घटना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै कांग्रेस र राजपाले संसद बैठक सुचारु हुन दिएका थिएनन्।