बाह्र हजार ट्याक्सी चालक कारबाहीमा


हरेकपल August 7, 2019

साउन २२, काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले कानूनविपरीत कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।

आर्थिक वर्ष ०७५–७६ मा यात्राुलाई विभिन्न बहाना बनाई दुःख दिने चालकलाई कारवाही गरिएको हो ।

बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले तीन हजार जरिवाना गर्ने गरेको छ । त्यस्तै, पाँच पटकभन्दा बढी भाडा लिएर कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने गरिएको महाशाखाले जनाएको छ ।

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने रु ५०० देखि एक हजार ५०० सम्म जरिवाना गर्ने गरिएको पन्तले बताए । महाशाखाले बढी भाडा लिने ट्याक्सी चालकको कारबाहीका लागि दैनिक ३० देखि ५० ट्राफिक प्रहरी उपत्यकाका विभिन्न स्थानमा खटाउँदै आएको छ ।

ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नं १०३ मा खबर गर्न सबै यात्रुलाई महाशाखाले आग्रह गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा मात्र १० हजारभन्दा बढी ट्याक्सी सञ्चालनमा रहेका छन् ।