काठमाडौं, २२ साउन । नेपाली कांग्रेसले राष्ट्रसेवक कर्मचारीहरुको संगठन आधिकारिक ट्रेड युनियन खारेजीको धारणा स्वीकार्य नहुने प्रष्ट पारेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलले बुधबार प्रेस वक्तव्य जारी गरेर खारेजीको तयारीमा रहेको भनिएको युनियन स्वीकार्य नहुने प्रष्ट पारेको हो ।
सरकारले कर्मचारी ट्रेड युनियनलाई निरन्तरता र बैधानिकता दिने प्रस्ताव गरे पनि बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा सांसदहरुको मत बाझिएको थियो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले वक्तव्य जारी गरेर ट्रेड युनियन खारेजसम्बन्धी कुनै पनि प्रस्ताव अगाडि नबढाउन सररकारलाई सचेत गराएका छन् ।
“ट्रेड युनियन खारेजीको धारणा नेपाली कांग्रेसलाई स्वीकार्य छैन् । तसर्थ ट्रेड यूनियन खारेजसम्बन्धी कुनै पनि प्रस्ताव अगाडि नबढाउन सरकार र सम्बन्धित पक्षलाई नेपाली कांग्रेस संसदीय दल सचेत गर्दछ,” वक्तव्यमा भनिएको छ ।
राष्ट्रसेवक कर्मचारीहरुको हकहित एवम् संरक्षणका लागि गठन भएको आधिकारिक ट्रेड युनियन खारेज गर्ने भन्ने समाचारप्रति संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रमुख सचेतक खाँणले श्रमिक कर्मचारीहरुको हकहितलाई कुण्ठित गर्ने अभिप्रायले ट्रेड यूनियन खारेज गर्नु अत्यन्त दुःखद पक्ष भएको बताएका छन् ।