निजगढ विमानस्थल विश्वकै सानदार बन्ने शिलान्यास छ महिनाभित्र


हरेकपल August 8, 2019

काठमाडौँ, २३ साउन   । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास यसै वर्ष गर्ने तयारी भएको जानकारी दिनुभएको छ ।
बुधबार मन्त्रालयमा पत्रकारसँगको छलफल कार्यक्रममा सन् २०१९ भित्रै कम्तीमा शिलान्यास गरिसक्ने उहाँले बताउनुभयो । सन् १९८५ देखि नै निजगढमा विमानस्थल निर्माण गर्ने चर्चा चले पनि काम हुन नसकेकाले अब भने यसको विकल्प नखोजिने उहाँको भनाइ थियो ।
“फास्ट ट्र्याक बनेपछि एक घन्टामै पुग्न सकिने भएकाले निजगढ एक किसिमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो,” उहाँले भन्नुभयो, “हामी निजगढको विकल्प खोज्दैनौँ । ” विमानस्थल निर्माणका लागि टाँगिया बस्ती व्यवस्थापन प्रक्रिया तत्काल अगाडि बढाउने पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँका स्थानीयलाई मुआब्जा दिएर अथवा स्थानीय सरकारसँगको साझेदारीमा बस्ती स्थानान्तरणको काम हुनेछ ।

“हामी त्यहाँका स्थानीयलाई नाङ्गो खुट्टा पठाउँदैनौँ,” उहाँले भन्नुभयो, “स्थानीयको सम्मानजनक व्यवस्थापन हुन्छ । ” कार्यक्रममा उहाँले आफू वातावरण विनाश र विध्वंस गर्न नआएको स्पष्ट पार्नुभयो । “म निजगढमा विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ,” उहाँले भन्नुभयो । निजगढमा रूख कटानका विषयमा व्यक्त भएका चासोलाई समेत सम्बोधन गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।
निजगढमा विमानस्थल निर्माणका लागि कटान गर्नुपर्ने रूखको सम्बन्धमा अहिलेसम्म यकिन नभइसकेकाले यस विषयमा वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गर्ने उहाँले बताउनुभयो । विमानस्थल निर्माणका सन्दर्भमा उठेका विषयलाई सम्बोधन गर्न आफूले प्रधानमन्त्रीसँग कुराकानी गरेर सर्वदलीय बैठकसमेत गर्न लागेको उहाँले जानकारी दिनुभयो । निजगढका सम्बन्धमा अब अध्ययन गर्नुपर्ने खास विषय नभएकाले यसको निर्माणको तयारीको काम अगाडि बढाइने उहाँले
जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्री भट्टराईले नेपाल वायुसेवा निगमको सुधारका लागि आफू दृढ रहेको भनाइ राख्नुभयो । “मन्त्रालय सम्हालेको एक हप्तामा मैले हरेक दिनजसो निगमका पदाधिकारीसँग छलफल गरिरहेको छु,” उहाँले भन्नुभयो । आफूले निगमलाई ‘वाह’ निगम भन्ने बनाउने विषय केवल बोल्नका लागि नभएर गर्नकै लागि भनेकोसमेत उहाँले स्पष्ट पार्नुभयो । त्यस्तै उहाँले भैरहवा र पोखरामा निर्माणाधीन विमानस्थलको सञ्चालन लक्ष्य तोकिएको समयभित्रै पूरा हुने विश्वास रहेको पनि बताउनुभयो ।

निगम सुधार्न कार्यदल
कार्यक्रममा मन्त्री भट्टराईले वायुसेवा निगमको समग्र सुधारका लागि बुधबार नै पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिनुभयो । समितिले निगमको अहिलेको विद्यमान आर्थिक अवस्थाका बारेमा जानकारीसहित सुधारका लागि आवश्यक सुझाव मन्त्रालयलाई उपलब्ध गराउनेछ । “निगमका खास समस्या के हुन्, त्यो समितिले तोकेरै दिनेछ,” मन्त्री भट्टराईले भन्नुभयो ।
पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा गठन भएको उक्त समितिमा प्रमोद कर्ण, डिमप्रसाद पौडेल, सुधीरशमशेर राई सदस्य हुनुहुन्छ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य हुनुहुन्छ । कार्यदललाई सुझाव पेस गर्न एक महिनाको समय दिइएको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।(गोरखापत्रबाट साभार)