आज पुत्रदा एकादशीव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ श्रावण २६ गते


हरेकपल August 11, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको २६ गते आइतवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको पुत्रदा एकादशी तिथि दिवा १२।४९ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मूल नक्षत्र राति ३।६ बजेसम्म रहनेछ । आज वैधृति योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ५।३२ मा छ भने सूर्यास्त बेलुका ६।४४ बजे हुनेछ ।
चन्द्रमा आज धनु राशिमा छन् । आज पुत्रदा एकादशीव्रत परेको छ । श्रावण शुक्लपक्षको एकादशीलाई पुत्रदा भनिन्छ । आजको व्रत उपासनाले सन्तति सुख मिल्ने गर्दछ । भक्तिभावपूर्वक आज भगवान्को उपासना गर्नाले यो लोकको भुक्तिका साथै परलोकमा मुक्ति पनि प्राप्तहुने कुरा शास्त्रमा बताइएको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५