‘युवाहरू विकास र समृद्धिको अभियानमा एकजुट हुनुपर्छ’


हरेकपल August 10, 2019

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सुशासन, विकास र समृद्धिको राष्ट्रिय अभियानमा एकजुट भएर लाग्न युवाहरूलाई आग्रह गरेका छन्।
युवा क्षेत्रमा काम गर्ने विभिन्न संघ—संस्थाद्वारा आयोजित सप्ताहाव्यापी ‘राष्ट्रिय युवा अधिकार महाभेला २०७६’ समुद्घाटनसत्रमा बोल्दै मन्त्री विश्वकर्माले यस्तो आग्रह गरेका हुन्।

अन्तर्राष्ट्रिय युवा दिवस २०१९ का अवसरमा युथ एडभोकेसी नेपाल, राष्ट्रिय युवा महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग युवा संजाल नेपाल, दलित युथ एलाईन्स, फोर एच नेपाल, युनाइटेड युथ लगायतका ३५ वटा भन्दा वढी गैर सरकारी संस्थाले राजधानीको अनामनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले महाभेलाबाट निकालिने घोषणा पत्र आफूलाई उपलब्ध गराउन अनुरोध गरेका छन्।

उनले भने,‘गायक पशुपति शर्माले गाउनु भएका गीतहरूले समाजलाई सम्बोधन गरेका छन्। राष्ट्रलाई माथि उठाउने काम गरेका छन्। अमेरिका, जापान, बेलायत सबै यहि हाम्रो नेपाल हो। देशको भविष्य र आफ्ना आफन्तको शुखीको लागि युवाहरूले स्वदेशमै बसेर खाडिमा गर्ने परिश्रम यही गर्नुपर्छ।’

कार्यक्रममा मन्त्री विश्वकर्माले गायक पशुपति शर्मालाई सम्मान गरेका छन्। गायक पशुपति शर्माले समाजिक जनचेतना र वस्तुस्थितिका बारेमा गीत गाएको भन्दै आफ्ना रचनाहरूलाई व्यङ्ग्यत्मक रुपमा ग्रहरण गर्न आग्रह गरेका छन्।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल, सेसी ईन्टरनेसनलका राष्ट्रिय निर्देशक सिताराम भट्ट, गैर सरकारी संस्था महासंघका अध्यक्ष जित बहादुर लामा, संकल्पका अध्यक्ष लिली थापा, राष्ट्रिय युवा अधिकार महाभेलाका संयोजक महेन्द्र थापा लगायतले आफ्ना कुराहरू राखेका थिए ।