भारतले नेपाललाई सिक्किम वा भुटान बनाउने प्रदीप गिरिको चेतावनी


हरेकपल August 14, 2019

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारतले नेपाललाई सिक्किम वा भुटान बनाउने प्रयास गरिरहेको चेतावनी दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा बोल्दै गिरिले यस्तो चेतावनी दिएका हुन् ।

कुनैवेला नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङयुद्ध गर्ने उद्घोष गर्ने नेता अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको उनको टिप्पणी थियो । उनको यो टिप्पणी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित थियो ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिमा भारतले नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गरेको, असमान सन्धि सम्झौता रहेकोलगायत विषयमा छलफल चलेको थियो । सोही छलफलका क्रममा गिरिले यस्तो बताएका हुन् ।

भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम वा भुटान बनाइदिने उनले ठोकुवा गरे । उनले भने, ‘हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ । भुटान बनाउँछ । तथ्य हो यो ।’

नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसात् गरी पहलकदमी गर्न गिरिले आग्रह गरे । बोलेर मात्रै कूटनीतिक समस्या समाधान नहुने भएकाले समयमै सचेत बनेर कूटनीतिक सक्षमता देखाउन उनले सरकारको ध्यानाकर्षण गराए ।

राजनीति गर्ने मान्छेले बोल्दा कूटनीतिको ख्याल गर्नुपर्ने उनको भनाइ थियो । विपक्षमा रहँदा आफूले उठाएका माग सत्तामा पुगेर लागू गर्न सक्नुपर्ने नत्र त्यस्ता माग उठाउनै नहुने उनको भनाइ थियो । उनले भने, ‘कूटनीति भनेको चुनाव लड्नका लागि गर्ने भाषण होइन । सबैभन्दा ठूलो विफलता कूटनीतिक विफलता हो ।’