राती १२ बजे घाम लाग्ने देशको कथा -९


हरेकपल August 15, 2019

–हरिविनोद अधिकारी–

नर्वेलाई अनुशासन प्रिय देशको रुपमा लिइन्छ । एकजना नेपाली भुक्तभोगीले मलाई बताए —नर्वेको समाजलाई विघटन हुनबाट जोगाउने यहाँको नियम कानुनलाई कडाइका साथ कार्यान्वयन गर्नु हो । स्वतन्त्र समाज छ, विवाह गरेर बच्चा जन्माउने भन्दा विवाहपूर्व नै बच्चा जन्माउने प्रचलन छ ।

विवाह त केही समयपश्चात् पनि हुनसक्छ, नहुन पनि सक्छ । विवाह नै नभएपछि कसरी सम्बन्ध विच्छेद हुन्छ र ? सम्बन्ध बन्नु र भत्कनु सामान्य कुरा हो तर पनि नर्वेली समाज शान्त देखिन्छ, कुनै हलचल नभए जस्तो । लैङ्गिक समानता छ, सामाजिक न्यायको प्रत्याभूति छ र आधारभूत आवश्यकताको जोहो सरकारले पनि गर्छ, नागरिक आफैँ पनि आफ्नालागि मिहिनेत गरेर बाँच्ने कुरामा विश्वस्त छन् । करोड पति बाबु वा आमाको सन्तानले पनि आफ्नू व्यवस्था आफैँले गर्नु जरुरी छ । नाबालिग हुँदा अभिभावक र सरकारको जिम्मा बालक हुन्छ, बालिग भएपछि उसको जिम्मा आफैँले लिन्छ या सरकारले लिन्छ । बेरोजगारी भत्तादेखि सम्पूर्ण सुबिधा सरकारले दिनैपर्छ । शिक्षा जति पढे पनि निःशुल्क छ ।

विकसित देशको भनेर गणनामा परेको नर्वेमा आज सार्वजनिक यातायातको एउटा नियमको वारेमा चर्चा गरिन्छ । टिकट नभए के हुन्छ ? नियम कडा छ । विना टिकट यात्रा गरिन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन । यो एउटा खुकुलो नियमभित्रको कडा नियम हो । नर्वेमा एकघन्टे टिकट, २४ घन्टे टिकट, हप्ताभरका लागि टिकट, महिना भरको लागि टिकट र वर्षभरिका लागि टिकटको व्यवस्था गरिएको हुँदो रहेछ । टिकटको मूल्यमा छुट दिँदै मूल्य निर्धारण गरिएको हुँदो रहेछ । यातायातका रुपमा रेल, ट्रिक, बस, फेरी वा बोटको व्यवस्था हु्न्छ ।

एउटै टिकटको समयावधिभित्र यात्रा सम्पन्न गनुपर्छ । उदाहरणका लागि यदि १ घण्टाको लागि टिकट लिइएको छ भने त्यो एकघण्टामा जति यात्रा सम्पन्न गर्ने हो गरिसक्नुपर्छ यात्रा सुरु गरेको समयबाट । यहाँ पनि इमानको कुरा आउँछ । बसमा या ट्रिकमा चढ्दा त्यहीँ नै टिकटलाई समय रेखाभित्र थाहा पाउने यन्त्र राखिएको हुन्छ । अर्थात् त्यो टिकट त्यो यन्त्रमा छुवाएपछि समयको गणना सुरु हुन्छ । यन्त्रमा नछुवाएसम्म टिकटको समय सुरु हुँदैन । जबसम्म टिकटलाई त्यो स्वचालित यन्त्रमा छुवाइँदैन, त्यो टिकट लिएर हिँड्ने यात्री टिकट नलिएसरह हुन्छ । केही त्यस्ता यात्री पनि हुनेरहेछन् जसले सकेसम्म टिकट स्वचालित यन्त्रमा नछुवाई टिकट बचत गर्ने अर्थात् फेरि किन्नु नपरोस् । त्यस्ता यात्रीहरुलाई सधैँ कन्ट्रोलको डर हुनेरहेछ । कन्ट्रोल अर्थात् टिकट चेक गर्ने र टिकट नकिनी चढ्ने या किनेर पनि स्वचालित समय गणना गर्ने यन्त्रमा नछुवाइकन राख्नेहरुलाई कार्बाही गर्ने । या समयभन्दा बढी समयको यात्रा गर्ने पत्ता लगाउने र दण्ड गर्ने । कन्ट्रोलको डरले पनि मानिसहरु टिकट किनेर स्वचालित यन्त्रमा टिकटलाई छुवाएर समयको घेराभित्र आफूलाई राख्छन् ।

टिकटको मूल्य यात्रा गर्ने ठाउँको दूरीका आधारमा निर्धारण गरिएको हुँदोरहेछ । एउटा जोनबाट अर्को जोनमा जानुपर्दा मूल्य बढी हुन्छ तर एउटै जोनमा जानेका लागि न्यूनतम मूल्यबाटै जान सकिन्छ । तोकिएको समयभित्र जुनसुकै यातायातको साधनमा यात्रा गर्न सकिन्छ । सामान्यतया कसैले सोध्दैन । टिकट किन्न या त कुनै तोकिएको पसलबाट यन्त्रमार्फत् किन्न पाइन्छ या त ठाउँ ठाउँमा स्टेसनहरुमा कार्ड या पैसाबाट किन्न पाइन्छ । पैसा सजिलोको लागि मात्र भनिएको हो, नर्वेमा प्रचलनमा रहेको मुद्रालाई क्रोन या क्रोनर भनिन्छ । एक , पाँच, दश,बीस क्रोनको मुद्रा पाइन्छ भने ५०, १००, २००, ५०० र १०००को नोट पाइन्छ । क्रोनर नै चल्ती छ । खासै डलर, युरो र पाउन्डको चल्ती छैन । बैङ्कहरुमा साट्न पाइन्छ । औसतरुपमा १ अमेरिकी डलर बराबर ८ या ९ क्रोनर हुँदो रहेछ । युरो र डलरभन्दा पाउन्डको मूल्य यसै पनि बढी नै हुन्छ ।

ओस्लो विश्वकै महङ्गो सहरमा पर्दोरहेछ । तर यहाँको कमाई पनि राम्रै रहेछ । श्रमिकका लागि नर्वेलाई राम्रो देशको रुपमा लिइँदो रहेछ । श्रमको मूल्यमा कुनै ठगी हुँदैन भन्ने चलन रहेछ ।

यसपटक मैले सार्वजनिक यातायातको विना टिकटको कुरा गर्न आँटेको हुँ । यो हरफ लेख्दासम्म सार्वजनिक यातायातको सबैभन्दा कम मूल्य भनेको एकघण्टाको ३६ क्रोनर छ । बालक, विद्यार्थी, अपाङ्गता भएका नागरिक , ज्येष्ठ नागरिक, सुरक्षा सेवाका व्यक्तिका लागि छुटको व्यवस्था छ । विद्यार्थी जो ३० वर्षभन्दा बढीका लागि कुनै पनि छुट पाइने रहेनछ । ज्येष्ठ नागरिकका रुपमा उमेर ६७ वर्ष पुगेको हुनु पर्ने रहेछ । यदि कुनै टिकट लिएको मानिसले तोकिएको समयभन्दा २० मिनेटसम्म पनि सार्वजनिक यातायात नआएर काममा बाधा पुगेको सप्रमाण उजुर गरेमा उसलाई ट्याक्सी खर्चबापत ५५० क्रोनर दिनैपर्ने रहेछ ।

यदि टिकट नलिई यात्रा गरेको कन्ट्रोलले फेला पारेमा तत्काल नगद दिने भए ९००क्रोनर दण्ड तिर्नुपर्छ , तर दण्ड पछि बिस्तारै तिर्छु भन्नेलाई निश्चित समयसम्ममा तिर्ने गरी १,१००क्रोनरको दण्ड हुँदोरहेछ । एउटा उदाहरण मैले फेरा पारेँ —एउटै डेरामा बस्ने दुईजना सँगै घरबाट निस्केका रहेछन् । एकअर्काले आवश्यकता पर्दा एकअर्काको टिकट प्रयोग गर्नु कुनै ठूलो कुरा भएन , ती साथीहरु विना टिकट यात्रा गर्ने त हुँदै होइनन् तर त्यो दिन फुत्त हिँड्दा पक्कै दुवै टिकट एउटैजनासँग होला भनेर चढेछन् । चढ्ने बित्तिकै कन्ट्रोलले टिकट सबैसँग माग्यो । जसले थियो देखाए। कन्ट्रोलले टिकटको वैधानिकता जाँच्यो । ती दुईजनामध्ये एकजनासँगमात्र टिकट रहेछ ।

एकजनालाई के कुरामा विश्वास थियो भने मेरो टिकट पनि अर्कोसाथीसँगै होला किनभने उहाँकै परिवारका अर्को सदस्यले उहाँको टिकट मागेर लगेका थिए । अनि उनले भनेछन्— मेरो टिकट खोइ त ? अर्कोले आफ्नो टिकट त आफूसँग भएको तर उहाँको टिकटचाहिँ आफूलाई थाहा नभएको बताए पछि अर्को साथी अलमल्लमा परेछन् र नेपालीमा कुरा गर्दै भनेछन् —मैले त तपाईँको फलानोलाई प्रयोग गर्न दिएको थिएँ , अब म के गरौँ ? त्यो इमान्दार व्यक्तिले आफ्नो कार्ड अर्कोलाई दिएर आफूसँग कार्ड घरमा रहेको , केही समयपछि दिनसक्ने बताएछन् । कन्ट्रोलले कुरा त बुझ्यो,समस्या पनि थाहा पायो तर भनेछ—अरु कन्ट्रोल पनि छन् , अरुले दण्ड गरिरहेका छन् , बरु तपाईँ अहिले तिर्ने भए ९०० क्रोनर तिर्नुस्, नभए पछि तिर्नेगरी १,१००क्रोनरको बिल बनाउँछु , आफ्नो पहिले नै पैसा तिरेको कार्डको फोटो कपी या स्कान कपी राखेर यातायात केन्द्रीय सँस्थामा उजुर गर्नुस् मिनाहाका लागि । अनि सबै कुरा राखेर कन्ट्रोलले बिल बनायो र दियो । त्यो बिलसहित आफ्नो पहिले नै बनाएको कार्डको स्क्यान गरेर त्यो साथीले उजुरी गरे भनौँ या निवेदन दिए । करिब ४ महिनापछि दण्ड माफी भएको इमेल आयो तर अब आइन्दा त्यस्तो भएमा पूरा दण्ड लाग्ने भनेर चेतावनी पनि दियो ।

अर्थात् कन्ट्रोलको त्यो डरले पनि सबैले टिकट किन्छन् , समयको ख्याल गरेर यात्रा गर्छन्, जोनका आधारमा टिकट खरिद गर्छन् र इमानका भरमा सबै सार्वजनिक यातायातको व्यवस्थापन भएको पाइन्छ । मलाई पनि लाग्थ्यो, यति महङ्गो टिकट लाग्छ, तर कहिल्यै पनि कन्ट्रोल त देखिँदैन ? तर ५अगस्त अर्थात् साउनको २० गते मसहित हामी सबै परिवारका सदस्यहरु सोङ्भान गएका थियौँ, त्यहाँबाट फर्कँदा थेबानमा कन्ट्रोल आयो । हामीले त आफ्नो वैधानिक टिकट देखायौँ तर केही यात्रुहरुलाई त्यहाँ छटपटी भएको हामीले देख्यौँ । सायद त्यस्तै गरे होलान् कन्ट्रोलले , या त नगद लिए होलान्, ९०० क्रोनर या त पछिसम्म तिर्ने गरी ११सय क्रोनरको बिल दिए होलान् । हल्का हरियो ओस्लो बसमा टिकटको कन्ट्रोल स्वयं ड्राइभरले गर्नेरहेछन् । यात्रुहरु ड्राइभरनेरबाट चढ्नु पर्ने अनि ड्राइभरले टिकट चेक गर्ने रहेछ । समयावधि वैध भएको वा नभएको , पासको रुपमा पहिले नै रकम तिरेको , मोबाइलबाट टिकट किनेको सबै चेक गरेरमात्र भित्र प्रवेश दिने रहेछ ।

सामान्यतया महिनाको कार्ड किनेर हिँड्नेहरु धेरै हुँदा रहेछन् किनभने कहिलेकाहिँ टिकट किन्न नपाउँदा या हतारमा कतै जानुपर्दा मुस्किल पर्ने हुनाले कुसैले केही टिकट लिइराख्ने या महिना, तीन महिना या छ महिनाको टिकट किनेर राख्नेरहेछन् । निश्चित समयका लागि लिइएको टिकटका वारेमा त टिकट रिन्यु गर्ने कुरामात्र रहेछ । तर किनेको टिकट नछुवाएपछि हुने कुरामा त्यो हरियो बसमा भने यदि विना टिकट कुनै यात्री फेला परे ड्राइभरलाई दण्ड हुने रहेछ किनभने उसले चेक नगरेको अर्थमा लिइँदो रहेछ । कन्ट्रोल त कहिलेकाहिँ मात्र हुने हो तर कन्ट्रोलको डरले सबैले टिकट लिने रहेछन् किनभने फेला परेपछि त ९००क्रोनर पो तिर्नुपर्छ भनेर ।

यसरी सार्वजनिक यातायात रेल, थेबान, ट्रिक , बस , फेरी यसैगरी सञ्चालित भएका छन् र नाफामा चलेका छन् । निर्वाध यातायात सञ्चालनमा छन्, मिनेटको फरक पर्दैन । यतिबजे आउने र यतिबजे पुग्ने भन्ने समयसारिणी छ, त्यसका फरक पर्दैन तर विदामा दिनभने समय सारिणीमा केही परिवर्तन हुन्छ तर पनि सट्टा वाहनको व्यवस्था गरिएको हुन्छ । कुन रुटमा कुन बस वा ट्रिक वा रेल चल्ने छ भन्ने सूचना दिइएको हुन्छ । हामी नर्वेजियन नबुझ्नेका लागि कहिलेकाहिँ अप्ठेरो पर्ने रहेछ तर सूचनाचाहिँ हुँदोरहेछ ।

कतिपय व्यापारिक संस्थाहरुले सहरबाट आफ्नो पसलसम्मका लागि बसको सेवा निःशुल्क गरेका हुँदा रहेछन् जस्तो कि इकिया भन्ने व्यापारिक संस्थाले सेन्ट्रमबाट आफ्ना पसल जहाँ जहाँ छन्, त्यहाँसम्मका लागि बस सेवा विदाका दिनबाहेक सञ्चालन गरेका रहेछन् । त्यस्ता अरु पनि होलान्, तर मलाई जानकारीमा आएकोलाई मात्र मैले यहाँ प्रस्तुत गरेको हुँ । एकातिर खुकुलो देखिन्छ जो जहाँबाट चढे पनि हुने , टिकट काटेर चढ्नै पर्ने तर कसैले चेक गरेको नदेखिने , यदि विना टिकट चढेको पाइए दण्ड पनि कडाइका साथ असुल्ने । अनि जायज तर्कको पनि सुनुवाइ हुने र गरिएको दण्डको पनि मिनाहा हुनसक्ने । सायद त्यसैलाई भनेका होलान्, नर्वे नियमले बाँधिएको समाज हो , नियमले नै सबैलाई संयमित र अनुशासित बनाएको अनि सामाजिक नियम मान्नैपर्ने अनुशासनको पाठ पढाएको र त विकसित देशको रुपमा चिनिएको छ ।
नर्वेमा आफ्नो भाग्य निर्माण गर्न धेरै नेपाली विद्यार्थीहरु आएका छन् । यहाँसम्म आइपुग्ने नेपाली विद्यार्थीहरु पक्कै नै जेहेनदार र मिहिनेतीहरु नै आइपुगेका हुन्छन् ।

कतिपयले यहाँ स्नातक तह, स्नातकोत्तर तह , विद्यावारिधि तह र उत्तर विद्यावारिधि तहसम्मको अध्ययन गरेका छन्, कतिपयले यहाँ नै आफ्नो विषयअनुसारको काम गरिरहेका छन् । प्राध्यापक , चिकित्सक, इन्जिनियर, नर्स तथा व्यापार गरिरहेका पाइन्छन् । त्यसैमध्येका म त्यस्ता दुईओटा विद्यार्थीहरुको परिचय दिन्छु जो नेपालबाट ओस्लो आएर यहाँको प्रतिष्ठित ओस्लो विश्वविद्यालयबाट शिक्षामा एम फिलको पढाइ सम्पन्न गरेका छन् र छिटै विद्यावारिधिका लागि आवश्यक तयारी गर्दैछन् । अर्घाखाँचीका कमलप्रसाद खनाल र रुकुमका मिसर लामिछाने । दुवैले ओस्लो विश्वविद्यालयबाट उच्च शिक्षाको व्यवस्थापनमा एम फिल गरेका हुन् र आफ्नै विशेषज्ञताको विषयमा विद्यावारिधि गर्ने सोचमा तयारी गरिरहेको बताएका हुन् ।

अर्घाखाँची खनदहका रेणुका खनाल तथा ढुन्डीराम खनालका सुपुत्र कमल खनालले विद्यालय तह आदर्श मावि खनदहबाट उत्तीर्ण गरेर पाणिनी क्याम्पसबाट उच्च माध्यमिक तह , महेन्द्र रत्न क्याम्पस ताहाचलबाट बी एड् तथा काठमाडौँ शिक्षा क्याम्पस, रामशाहपथबाट एम एड (अंग्रेजी विषयमा) गरेर ओस्लो विश्वविद्यालयमा उच्च शिक्षाको व्यवस्थापन विषयमा एम फिल (शिक्षा) पढ्नका लागि अन्ताराष्ट्रिय प्रतिस्पर्धामा छानिएका हुन् । उनको शोधपत्र नेपालको उच्च शिक्षामा विश्व बैंक र युनेस्कोको लगानीको प्रभावकारितामा केन्द्रित रहेको छ । उनको विचारमा नेपालमा शिक्षामा धेरै लगानीको आवश्यकता छ र हामीले नेपालमा शिक्षालाई प्रभावकारी तरिकाले प्रयोग गर्ने वातावरण बनाए अझै बिग्रिएको छैन भन्ने छ ।

यसैगरी शिलादेवी लामिछाने र पशुपति लामिछानेका पुत्र मिसर लामिछानेले आफ्नो विद्यालय तह शीतल मावि चौरजाहारीबाट , स्नातक तह महेन्द्र रत्न क्याम्पस ताहाचल , एम एड अंग्रेजी विषयमा काठमाडौँ शिक्षा क्याम्पस रामशाहपथबाट उत्तीर्ण गरेका हुन् । लामिछानेले अंग्रेजी साहित्यमा पनि स्नातकोत्तर उपाधि नेपालमा हासिल गरेका छन् । उनी पनि अन्तराष्ट्रिय प्रतिस्पर्धामा छानिएर ओस्लो विश्वविद्यालयमा एम फिल अध्ययनार्थ आएका हुन् । उच्च शिक्षाको व्यवस्थापन विषयमा एम फिल गरेको लामिछानेको शोधको विषय थियो — २०७२सालको भूकम्पपछि त्रि.वि. को प्राज्ञिक तथा भौतिक क्षेत्रमा परेको प्रभाव मूल्याङ्कन र पुनस्र्थापनाको अवस्था ।

यी दुवै युवा शिक्षाअनुसन्धाताहरुको विचारमा नेपालकोउच्च शिक्षाको सैद्धान्तिक पाटो ठिक भए पनि व्यावहारिक पाटोलाई अझ अनुसन्धानमूलक बनाउनु जरुरी रहेको छ । पाठ्यक्रमको तयारी र मूल्याङ्कन प्रणालीलाई समय सापेक्षरुपमा तयारी गरी विद्यार्थीमुखी र समाजमुखी बनाउनु आवश्यक रहेको बताउँछन् दुवैजना । परीक्षालाई चारघन्टे, तीनघन्टे समयभित्रको घेराबाट बाहिर ल्याएर सबै पढाइ नै जीवनको लागि आवश्यक हो भन्ने चेतना जागृत गराउनु पर्ने र विश्वविद्यालयको अहिलेको अवधारणामा आमूल परिवर्तन गनुपर्ने धारणा राख्छन् खनाल र लामिछाने । आफूहरु आफ्नो अध्ययनपश्चात्् नेपालको उच्च शिक्षामा कसरी सुधार गर्ने भन्ने कुरामा केन्द्रित रहन चाहेको र आफूले गरेको अनुसन्धानको कार्यान्वयन गर्न चाहेको बताउँछन् ।


यससम्बन्धमा उनीहरुसँग मैले गरेकोको अनौपचारिक छलफल यहाँ सुन्न सक्नुहुनेछ । कमल खनाल र मिसर लामिछानेसँगको नर्वेमा गरिएको कुराकानी ।