काठमाडौं, ३० साउन । नेपाल प्रहरीले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । दुवै जनालाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले आज साँझ पक्राउ गरेको हो । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडियोपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीको अनुरोधमा सञ्चारकर्मी लामिछानेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी डिआइजी शैलेश थापाले जानकारी दिए। उनलाई अनुसन्धानका लागि काठमाडौंबाट चितवन लगिँदै छ। ‘चितवन प्रहरीको अनुरोधमा उनलाई पक्राउ गरिएको हो,’ डिआइजी थापाले भने।
पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका छन्। यसअघि पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।