–हरेकपल टिप्पणी–
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा पदीय भागबन्डाको माथापच्ची चलिरहँदा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट पाटीप्रति गम्भीर टिप्पणी गरेका छन् । भट्टराईले कम्युनिस्ट सरकारका कारण नेपाल विश्वमै लज्जित हुनुपरेको मात्र बताएनन्, बिपीको पुस्ता सकिएपछि कांग्रेसको पनि समय सकिएको टिप्पणी गरेका छन् ।
सत्तारुढ नेकपाप्रति लक्षित गर्दै पूर्वकम्युनिष्ट नेता भट्टराईले नेपालका कम्युनिस्ट भनाउँदा पार्टी नै संघीयताको मर्मविपरीत गइरहेको आरोप लगाएका हुन् । आफूलाई कम्युनिस्ट हौँ भन्नेहरूले राजसी सुविधा खोज्ने गरेको र धर्मगुरुको पछि लागेको भन्दै डा. भट्टराईले कटाक्ष गरेका हुन् । कम्युनिस्ट सरकारका कारण नेपाल विश्वमै लज्जित हुनुपरेको उनको भनाइ थियो ।
समाजवादी पार्टी गण्डकी प्रदेशले शुक्रबार पोखरामा गरेको पार्टी समायोजन तथा शपथ ग्रहण कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आफ्नो देशमा अस्पताल बनाउन नसक्ने अनि आफूचाहिँ उपचार गर्न विदेश जाने ?’ भन्दै आपत्ति जनाए । सरकारले व्यक्तिगत चाहना भन्दा पनि जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले प्रश्न गरे, ‘उहाँलाई समस्या थाहा रहेछ त । नेपालमै राम्रो उपचार हुने अस्पताल खोल्न किन सक्नुहुन्न ?’
समाजवादी पार्टी अरु परम्परागत पार्टीजस्तो नभएको र देशमा अब समृद्धि समाजवादी पार्टीले मात्रै ल्याउन सक्ने दाबी गरे । उनले भने, ‘यो हात्तीजस्तै बलियो देखाउन बनाइएको हात्ती छाप चप्पल होइन, समाजवादी पार्टी हात्ती हो । स्वस्थ र बलियो हात्ती ।’
कांग्रेस र कम्युनिस्ट पार्टी पेप्सी र कोकाकोलाजस्तै पुराना ब्रान्ड भइसकेको र उनीहरुले काम गर्न नसक्ने आरोप लगाउँदै भट्टराईले भने, अब तिनीहरुको कामै छैन, ‘त्यो ब्रान्ड भइसकेको झन्डामुनि बसेर समृद्धि आउँदैन ।’ एक समय बिपीले कांग्रेसको साख जोगाएको, तर बिपीको पुस्ता सकिएपछि कांग्रेसको पनि समय सकिएको उनको टिप्पणी थियो ।
बाबुराम माओवादीको १० वर्षे सशस्त्र युद्धका प्रमुख सूत्रधारमध्येका एक व्यक्ति हुन् । माओवादी पार्टीबाटै प्रधानमन्त्री बनेर ‘राष्ट्रिय व्यक्तित्व’ बनाएका भट्टराई वर्तमान सत्तारुढ दल नेकपाका पनि सूत्रधार हुन् । भलै, मओवादी युद्धताका उनी जुन निर्णयक भूमिकामा थिए, नेकपा गठनका वेला हुन सकेनन् ।
गत आमनिर्वाचनअघि ‘वामगठबन्धन’ निर्माणको घोषणा सभामा सम्मिलित उनले तत्कालीन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै हात समातेर गठबन्धनमा सहभागी भएका थिए । तर, प्रचण्डले गोरखा क्षेत्र नं २ बाट उम्मेदवार बन्न चाहेका भट्टराईलाई नमानेर नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएपछि भट्टराई गठबन्धनबाट बाहिरिएको घोषणा गरेका थिए ।
न वामपन्थीको समर्थन न त नयाँ शक्तिबाट निर्वाचन जित्न सक्ने हैसियत भएपछि भट्टराई कांग्रेसको ‘पाउ परेर’ उसैको समर्थनमा गोरखा क्षेत्र नं २ को उम्मेदवार बनेर निर्वाचन जिते । त्यही कांग्रेसले जोगाइदिएको नाक ठड्याउँदै बाबुराम अहिले कांग्रेसलाई मिति सकिएको पार्टी भनेर टिप्पणी गर्दै हिँडेका छन् ।
कुनै वेला एमालेलाई लिंग नछुट्टिएको पार्टी भनेर टिप्पणी गरेका भट्टराईले पछिल्लो समय सत्तारुढ दल संघीय समाजवादीमा आफ्नो पार्टी विलय गराएर सो पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष सुम्पेर दोस्रो वरीयताको अध्यक्ष बने ।
आफ्नै पार्टीको कार्यकारी अध्यक्ष देशको उपप्रधानमन्त्री रहेको विद्यमान अवस्थामा दोस्रो वरीयताका उनी आफूलाई प्रतिपक्षी दलको सांसद भन्न रुचाउँछन् । संसद्मा उनी प्रतिपक्षी बेन्चमै बस्छन् । अरूको लिंग पहिचान गर्दै हिँड्ने डाक्टर भट्टराईको लिंग कसले पहिचान गरिदिने ?