प्रचण्डकाे पश्चात्ताप : पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ


हरेकपल August 17, 2019

काठमाडौं– तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गरेकाेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चात्ताप व्यक्त गरेका छन् । कार्यकर्ताले एकताका नाममा पार्टीलाइ एमालेमा विलय गराएकाे आराेप लगाइरहँदा प्रचण्डबाट यस्ताे अभिव्यक्ति आएकाे हाे ।

शनिबार नेपाल प्रगतिशील चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने  ‘कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ ।’

शुक्रबार नेकपा सचिवालय बैठकले ३३ विभागलाई पूर्णता दिएको थियो । नेकपामा स्कुल विभागको नेतृत्व कसले लिने भन्ने विषयमा लामो बहस भएको थियो । जुन पदका लागि पूर्वएमालेका तर्फबाट ईश्वर पोखरेल र पूर्वमाओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ मुख्य दाबेदार थिए ।

अन्ततः सो विभागको जिम्मेवारी ईश्वर पोखरेलले नै पाए । त्यति मात्रै होइन, विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गरेर पूर्वएमालेका उपाध्यक्ष वामदेव गाैतमलाइ साे पदकाे जिम्मेवारी दिएपछि प्रचण्डले पश्चात्ताप गर्न थालेका हुन् ।प्रचण्डले पार्टी एकतालाई बलियो बनाउनका लागि चित्त नबुझेका कतिपय कुरामा पनि निर्णय लिनुपर्ने बाध्यता रहेको  बताए ।

उनले चिकित्सा पेसालाई मानवतासँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै अनि मात्रै समाजवादउन्मुख देश बनाउन सकिने दाबी गरे । कम्युनिष्ट पार्टीका लागि अहिले अवसर र चुनौती रहेको बताउँदै प्रचण्डले सरकारको कामलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए ।