काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म आफू प्रधानमन्त्री पदबाट नहट्ने बताउनुभएको छ । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे– ‘अर्काे निर्वाचनपछि मलाई पनि पदमा बसिरहन मन छैन, साथिहरुलाई अर्काे निर्वाचनसम्म धैर्य गर्न आग्रह छ । अहिले प्रधानमन्त्री ओली पद जाने भो भनेर लगलग लगलग काँपिरहेका छन् भन्ने सुन्छु, हो पद सबैको जान्छ, पद नगएको मैले संसारमा कोही देख्या छैन, राजा महाराजा र बादशाहहरुको पनि कुनै न कुनै दिन पद गएको छ । अर्काे निर्वाचनपछि मलाई पनि बस्न मन छैन, काँप्यो भन्नु दिवा सपना हो ।’
प्रधानमन्त्री ओलीले सरकारको उद्धारतालाई कमजोरी ठानेर संविधान विरोधी गतिविधि नगर्न आग्रह गदैँ प्रतिपक्षी दलले अधिनायवादतर्फ सरकार गयो भन्ने आरोपलाई जनताले नपत्याउने जिकिर गर्नुभयो ।
उहाँले शान्ति, सुशासन र विकासका लक्ष्य पूरा गर्न लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले सबैको सहमतिमा स्थापित हुँदै गएको लोकतन्त्रलाई खलबल पु¥याउन खोज्ने केही पुराना प्रतिगामी शक्तिलाई ठेगान लगाउन लोकतन्त्रवादीको एकता अपरिहार्य रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जनताको सर्वोच्चतालाई सुरक्षित राख्न वर्तमान सरकार अपराध नियन्त्रण गर्न र भ्रष्टाचारी तथा राजस्व छलछाम गर्ने व्यक्तिलाई कठोर कदमबाट ठेगान लगाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
उहाँले एक साताभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको गठन हुने उल्लेख गर्दै बाढी पहिरोपीडित परिवारका लागि ८६९ घर निर्माण गरी समाजमा उनीहरुलाई पुनःस्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा बनेको संविधानको उपयुक्त कार्यान्वयन गरी जनतालाई सुखी राख्न संसद्मा गतिरोध अफाप सिद्ध हुने जानकारी दिनुभयो ।
उहाँले सार्वजनिक र गुठी जग्गा अतिक्रमण गर्नेलाई कानूनको दायरामा ल्याउने र गैरकानूनीरूपले ओगटिएका त्यस प्रकारका जग्गालाई सरकारकै स्वामित्वमा ल्याउने काम अघि बढेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कानून निर्माण अघि बढिरहेको, सरकार शान्ति सुरक्षामा प्रतिबद्ध रहेको, आर्थिक वृद्धिदर सात प्रतिशत रहेको, राष्ट्रिय गौरवका आयोजना निर्माण तीव्र गतिमा अघि बढेको, मन्त्रालय मातहतबाट सञ्चालन भएका सम्पूर्ण विकास निर्माण तोकिएकै समयमा सपन्न गर्न सम्बन्धित मन्त्रीसँग लिखित प्रतिबद्धता भएको सदनलाई जानकारी गराउनुभयो । रासस