आफूनिकट तीन नेतालाई उपाध्यक्षमा नियुक्त गरे झलनाथभन्दा तल्लो बरीयतामा बस्न माधव नेपाल तयार


हरेकपल August 18, 2019

काठमाडौं, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बरीयता विवाद चलिरहँदा हाल तेस्रो बरीयतामा रहेका नेता माधव नेपालले नयाँ माग अघि सारेका छन् ।

अर्का नेता झलनाथ खनालले आफू तेस्रो बरीयतामा आउनुपर्ने माग उठाइरहेका वेला नेपालले आफू झलनाथभन्दा तल्लो बरीयतामा झर्नुपरेमा आफूनिकट तीन नेतालाई उपाध्यक्षमा नियुक्त गर्नुपर्ने सर्त अघि सारेका हुन् ।

पार्टीको जारी सचिवालय बैठकमा नेता नेपालले यस्तो सर्त तेर्स्याएका हुन् । स्रोतका अनुसार नेपालले अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई उपाध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

नेपालले उनीहरू तीनैजनालाई स्कुल विभाग प्रमुख ईश्वर पोखरेलभन्दा माथिल्लो बरीयतामा राख्नुपर्ने अडान राखेका छन् । यसअघिको बैठकमा खनालले आफू माधव नेपालभन्दा बरीयतामा माथि हुनुपर्ने अडान राखेका थिए ।

यसअघिको सचिवालय बैठकले विधानभन्दा बाहिर गएर सहमतिमा वामदेव गौतमलाई उपाध्यक्षमा सिफारिस गरी पार्टीको स्थायी कमिटीमा पठाएको छ । सोही आधारमा नेपालले तीन नेतालाई उपाध्यक्षमा नियुक्त गर्न सर्त राखेको बुझिएको छ ।