विराज सम्मान २०७६ व्याकुल माइलालाई प्रदान गरिने


हरेकपल August 19, 2019

विराज समाजले हरेक वर्ष प्रदान गर्दै आएको विराज सम्मान यस वर्ष राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला ) लाई प्रदान गरिने भएकोछ ।ओखलढुंगा जिल्लाको हिलेपानीमा जन्म भई हाल ललितपुरमा बसोवास गर्नु हुने राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) ले संघीय गणतन्त्र नेपालको राष्ट्रगानको रचना गरी ओखलढुंगा जिल्लाको गौरव अभिवृद्धि गर्नु भएको छ ।लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मासाथ गरी नेपालमा लोकतान्त्रिक संस्कृतिको विकासमा चिरकालसम्म राष्ट्रगानले ऐतिहासिक योगदान गर्ने भएको हुदाँ उहाँको उच्च कदर गर्दै राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई विराज सम्मान २०७६ प्रदान गर्ने समाजले निर्णय गरेको हो ।

विराज समाजको कार्य समितिले प्रा. मुकुन्दराज दाहालको संयोजकत्वमा लेखक विनोदकुमार दाहाल र समाजका निवर्तमान अध्यक्ष दिनेशकुमार मगर सदस्य रहेको विराज सम्मान छनौट समिति गठन गरेको थियो । विराज समाजको १२ औं वार्षिक साधारण सभाको अवसरमा यही भाद्र १४ गते शनिबार एक विशेष समारोह आयोजना गरी व्याकुल माइलालाई विराज सम्मान २०७६ समर्पण गरिनेछ ।