कार्यकारी ओली, आशावादी प्रचण्ड


हरेकपल August 19, 2019

–हरेकपल टिप्पणी–

धनुषा– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अघिल्लो दिनमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै आगामी निर्वाचनसम्म आफू प्रधानमन्त्री पदबाट नहट्ने बताएका थिए । प्रधानमन्त्री ओलीले भनेका थिए– ‘अर्काे निर्वाचनपछि मलाई पनि पदमा बसिरहन मन छैन, साथीहरुलाई अर्काे निर्वाचनसम्म धैर्य गर्न आग्रह छ । अहिले प्रधानमन्त्री ओली पद जाने भो भनेर लगलग लगलग काँपिरहेका छन् भन्ने सुन्छु, हो पद सबैको जान्छ, पद नगएको मैले संसारमा कोही देख्या छैन, राजा महाराजा र बादशाहहरुको पनि कुनै न कुनै दिन पद गएको छ । अर्काे निर्वाचनपछि मलाई पनि बस्न मन छैन, काँप्यो भन्नु दिवा सपना हो ।’

प्रधानमन्त्रीको सो भनाइलाई बल पुग्ने गरी प्रधानमन्त्रीका अर्का दाबेदार प्रचण्डबाट यस्तो अभिव्यक्ति आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । त्यसो त ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गरेका छन् ।

गत शनिबार मात्रै प्रचण्डले तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेकोमा पश्चात्ताप व्यक्त गरेका थिए । नेपाल प्रगतिशील चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भनेका थिए, ‘कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ ।’

गत शुक्रबार नेकपा सचिवालय बैठकले ३३ विभागलाई पूर्णता दिएको थियो । नेकपामा स्कुल विभागको नेतृत्व कसले लिने भन्ने विषयमा लामो बहस भएको थियो । जुन पदका लागि पूर्वएमालेका तर्फबाट ईश्वर पोखरेल र पूर्वमाओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ मुख्य दाबेदार थिए ।

अन्ततः सो विभागको जिम्मेवारी ईश्वर पोखरेलले नै पाए । त्यति मात्रै होइन, विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गरेर पूर्वएमालेका उपाध्यक्ष वामदेव गौतमलाइ सो पदको जिम्मेवारी दिएपछि प्रचण्डले पश्चात्ताप गरेको अनुमान गरिएको थियो । सोही विषयमा प्रचण्डले पार्टी एकतालाई बलियो बनाउनका लागि चित्त नबुझेका कतिपय कुरामा पनि निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका थिए ।

केही दिनको अन्तरालमा नै सत्तारुढ दलका मुख्य नेताबाट फरक–फरक अर्थ लाग्ने गरी अभिवव्यक्ति आइरहँदा राजनीतिक वृत्तमा अनेक अड्कलबाजी हुन थालेका छन् । स्कुल विभागको नेतृत्व चयन गर्ने सन्दर्भमा केपी ओली र प्रचण्डबीच पटक–पटक वार्ता भएको थियो ।

अन्तिम अवस्थासम्म आफू पक्षधर नारायणकाजी श्रेष्ठलाई स्कुल विभागको जिम्मा दिनुपर्ने अडानमा रहेका प्र्रचण्ड एकाएक किन गले र सो विभाग ईश्वर पोखरेललाई दिन राजी भए ? भन्नेमा सबैले चासो राखेको देखिन्छ ।

पोखरेललाई स्कुल विभाग मात्र होइन, अर्का पूर्वएमालेका नेता वामदेव गौतमलाई विधानमै व्यवस्था नभएको उपाध्यक्ष पदका लागि सिफारिस गरियो । त्यसमा पनि प्रचण्ड सहमत भए । प्रचण्डले आफू पक्षधर नेता–कार्यकर्ताबाट सुरुदेखि नै पार्टीलाई एमालेमा विलय गराएको आरोप खेप्दै आएका थिए । पछिल्ला गतिविधिले कार्यकर्ताको त्यस्तो आरोपलाई प्रमाणित गरेको देखिन्छ ।

प्रचण्डले वर्तमान सरकार पाँच वर्ष रहने अभिव्यक्तिसँगै ओली र आफूबीच भएको सहमति कार्यान्वयन हुने पनि आशा व्यक्त गरेका छन् । के हो त त्यो अमुक सहमति ?

कतिपयले ओली र प्रचण्डबीच पार्टी र सरकार एक–एकजनाले चलाउने सहमति भएको भनेर विश्लेषण पनि गरेको छन् । सो सहमति ओली उपचारका लागि फेरि सिंगापुर गएर आपछि कार्यान्वयनमा आउने बताइरहेका छन् । प्रचण्डले आफू नेकपाको एकल कार्यकारी अध्यक्ष बन्ने सर्तमा सबै पद छाडिदिएको विश्लेषण भइरहेको छ ।

ओलीबाट पटक–पटक धोका खाइरहेका प्रचण्डले अझै पनि आफूहरुबीच भएको सहमति कार्यान्वयन हुनेमा विश्वास गर्न सकेका छैनन् र भनिरहेका छन्– सहमति कार्यान्वयन हुनेमा आशावादी छु ।