सन्दर्भ ब्याजदरको हेरफेर हुँन सक्ने : मन्त्री अर्याल


हरेकपल August 20, 2019

सहकारी विभागले श्रावण १९ गतेबाट लागू गर्नेगरी निर्णय गरेको सन्दर्भ ब्याजदरको विषयमा सहकारीकर्मीहरुको चर्को असन्तुष्टि सिर्जना हुन थालेसँगै भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री पद्धमाकुमारी अर्यालले सहकारी अभियानकर्मीहरूसँग छलफल गर्नुभएको छ ।

काठमाडौं र ललितपुर जिल्लाका सहकारीकर्मीहरूलाई मन्त्रालयमा बोलाएर गरिएको छलफलमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाई, उपाध्यक्ष ज्ञान बहादुर तामाङ, महासचिव खेम सुवेदी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ काठमाडौंका अध्यक्ष मनोज थापा, नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघका सचिव माधव तिमल्सिना, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईं लगायतका सहकारी अभियानकर्मीको सहभागिता रहेको थियो ।

काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेक प्रसाद चौलागाईले सहकारी संस्थाहरूले उठाएको मुद्दाबारे मन्त्री अर्याललाई जानकारी गराएको र त्यस विषयहरूलाई मन्त्री अर्यालले गम्भीरतापूर्वक लिएको जानकारी दिनुभयो । असन्तुष्ट सहकारी अभियानकर्मीहरूलाई सन्दर्भ ब्याजदर निर्धारण समितिका पदाधिकारीसँग राखेर छलफल गराएर हेरफेर गर्न सकिने आश्र्वासन मन्त्रीबाट पाएको चौलागाईले बताउनुभयो । सुनुवाइ नभए आईसीएलाई गुहार्ने, अदालत जाने लगायतका विकल्पहरू रहेको उहाँको दावी छ ।