नेपाल–भारत संयुक्त बैठक : भारतद्वारा नेपाललाई २ अर्ब ४५ करोड प्रदान


हरेकपल August 21, 2019

काठमाडौं– काठमाडौमा जारी नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल तथा भारतका परराष्ट्रमन्त्रीलगायत उच्चस्तरीय टोलीको सहभागिता छ ।

बैठकमा भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई २ अर्ब ४५ करोड रुपैयाँ उपलब्ध गराएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई रकमको चेक हस्तान्तरण गरेका छन् ।

भारत सरकारले निर्माणाधीन हुलाकी सडकको निर्माण सम्पन्न गर्न १ अर्ब ३० करोड रकम उपलब्ध गराएको छ । ०७२ को भूकम्पपछि नेपालले आयोजना गरेको दातृ सम्मेलनमा भारतले पुननिर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो । जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ ।

भारतको खाद्य सुरक्षा हेर्ने प्राधिकरण र नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच पनि सम्झौता भएको छ । नेपाल भारतबीच खाद्य वस्तु तथा तरकारीलगायत वस्तुहरुको उत्पत्ति प्रमाणपत्र र गुणस्तर प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र दुवै देशमा मान्य हुनेगरी सम्झौता भएको छ ।

विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरुले आफ्नो देशको आधिकारिक प्रयोगशालामा जाँच गरी गुणस्तर प्रमाणपत्र प्राप्त गरेका खाद्य वस्तु तथा उपभोग्य सामग्री सीमा नाकामा परीक्षण गर्नु गराउनु नपर्ने प्रावधान छ ।