सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दो


हरेकपल August 22, 2019

विराटनगर, ५ भदौ ।  गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मोरङमा १०५ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवराज पोखरेलका अनुसार सो अवधिमा जिल्लाभरिमा ४८४ दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ८५४ घाइते भएका थिए । आर्थिक वर्ष २०७३-७४ मा ४३४ दुर्घटनाबाट १०४ जनाको मृत्यु भएको थियो भने ८२५ घाइते भएका थिए । आव २०७४-७५ मा ५०३ सवारी दुर्घटनामा १०९ को मृत्यु र ८२८ घाइते भएका थिए ।

सडकको दुरावस्था, तीव्र गति, ओभरलोडजस्ता कारणले दुर्घटना हुने गरेको ट्राफिक प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । यस्तै, सवारी कारवाहीबाट गत आर्थिक वर्षमा रु तीन करोड ८४ लाख ६९ हजार राजश्व सङ्कलन भएको छ भने आव २०७३÷७४ मा रु एक करोड ९९ लाख ६६ हजार र आव २०७४-७५ मा रु तीन करोड ४१ हजार राजश्व सङ्कलन भएको कार्यालयबाट थाहा भएको छ ।

आव २०७५-७६ मा ६५ हजार १३३, आव २०७३-७४ मा ३३ हजार ८८३ र आव २०७४-७५ मा ५४ हजार ८१६ सवारीसाधन कारवाहीमा परेका छन् ।
राधाकृष्ण रथयात्राका लागि सुदृढ सुरक्षा व्यवस्था
यस्तै, भदौ ७ गते विराटनगरको पोखरियाबाट निस्किने श्री राधाकृष्ण रथयात्राको सुरक्षाको राम्रो प्रबन्ध मिलाएको प्रहरी उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । लगभग सात किमी दूरी तय गर्ने रथयात्रामा एक हजार ५०० भन्दा बढी प्रहरी परिचालन हुने र नगर क्षेत्रमा जडान भएका सबै सिसी क्यामेरामा निगरानी गरिने व्यवस्था मिलाएको उपरीक्षक अधिकारीले बताउनुभयो । रासस