उपचारका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै


हरेकपल August 22, 2019

 

काठमाडाैं, ५ भदाै । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन्। ओली दिउँसाे साढे १ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री स्वदेश फर्किने तिथीको भने अहिले नै टुंगो लागेकाे छैन्। प्रधानमन्त्री ओली यही अगष्ट ३ का दिन फलोअप उपचारका लागि सिंगापुर गएकोमा १० दिन त्यहाँ बसेर स्वदेश फर्किएका थिए।

उनी स्वदेश फर्किएपछि संसदको बैठकलाई सम्बोधन गर्नुका साथै संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकपनि बोलाएका थिए। यस्तै लामो समयदेखि थाति रहेको पार्टीको जिम्मेवारी बाँडफाँड समेत उनले यही छोटो समयमा टुंग्याएका छन्। यसैगरी विगतको द्वन्द्वकालीन घटनालाई टुंग्याउनको लागि सत्य निरुपण आयोग र बेपत्ता आयोगमा पदाधिकारी छनोटको विषयमा पनि उनले प्रमुख विपक्षी नेपाली कांग्रेससँग सहमति लिएर प्रक्रिया टुंग्याउने प्रयास गरेका छन्।

प्रधानमन्त्री लामो समयदेखि मृगौलाका बिरामी हुन्। उनको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो। कामको धपेडीको कारण देखाउँदै उनको निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि सिंगापुर जान आग्रह गरेपछि पहिला पनि गएकोमा अहिले फेरि जान लागेका हुन्।