उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
भाद्र कृष्ण अष्टमी रोहिणी नक्षत्रका दिन मध्यरातमा मथुराको कंस कारागारमा भगवान् श्रीकृष्ण भगवान्को जन्म भएको दिनलई श्रीकृष्ण जन्माष्टमी भनिन्छ । अँधेरी रातमा जन्मिएर पनि संसारलाई उज्यालो ज्योति प्रदान गर्ने भगवान््को महिमा अपरम्पार छ । विशेषतः कर्मयोगका गुरु भगवान् श्रीकृष्ण रहेकोले पनि कर्मयोगी आम मानव समुदायका निम्ति यो दिन विशेष रहने गर्दछ । संसारलाई कर्मको बाटोमा हिँड्न अभिपे्ररित गर्ने द्रष्टाको जन्म भएको दिन नै श्रीकृष्ण जन्माष्टमी हो । भक्ति र ज्ञानको पाठ पनि श्रीकृष्ण चरित्रबाट प्राप्त गर्न सकिन्छ । भगवान्् श्रीकृष्णको चरित्र इतिहासको एक काल खण्डमा घटेको वास्तविक घटना हो । कथात्मक रूपमा कविले केही वर्णन गर्नु भिन्नै हो तर उक्त समय र परिस्थिति त्यस्तो थिएन भन्नु गलत हुन्छ । किनकि भगवान्् श्रीकृष्णको समय द्वापर युगको हो । जुन युगको ज्योतिषीय काल गणना पनि स्पष्ट उल्लेख पाइन्छ ।
कृष्ण अर्थात् अँध्यारो पक्षमा जन्मेर पनि संसारमा भक्ति, ज्ञान र कर्मको दिव्य ज्योति प्रदान गर्ने भगवान््को लीला अपरम्पार छ । संसार अज्ञानरूपी अन्धकारमा बाँचिरहेको बेलामा ज्ञानको दिव्य गंगा प्रवाहित गरी मानव समुदायको कल्याण गर्नकै निम्ति भगवान्को पूर्ण अवतारका रूपमा श्रीकृष्णको जन्म भएको हो । पिता वसुदेव र माता देवकीका गर्भबाट मथुराको कंस कारागारमा भगवान््ले जन्म लिनु भएको हो ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मनं सृजाम्यहम् ।। (गीता, ४।७)
अर्थात् जब जब धर्मको ग्लानि हुन थाल्छ तब धर्म रक्षाका निम्ति भगवान्को अवतार हुन्छ भने झै कंसको अत्याचारबाट मुक्ति दिलाउन भगवान्को जन्म भएको हो । साथै भारत वर्षमा फैलिएको दुर्योधन प्रवृत्तिको अन्त्यका निम्ति पनि भगवान्को अवतार आवश्यक थियो । साथै अन्य थुप्रै धर्महीन कार्यले जर्जर भएको भूमण्डललाई पवित्र बनाउने उद्देश्यले भगवान्ले अवतार ग्रहण गर्नु भएको कुरा स्वयं पुराणहरूमा व्यक्त पाइन्छ ।
देवकीको आठौँ गर्भबाट अष्टमीका दिन जन्म लिनु पनि संयोग नै हो । विशेषगरी ज्योतिषशास्त्रमा अष्टमी तिथिलाई अशुभ मानिन्छ । तर सोही तिथिमा भगवान््को जन्म हुनुले भगवान्को वास शुभाशुभ सर्वत्र हुन्छ भन्ने सन्देश पनि उक्त अवसरले प्रदान गरेको छ । यसैगरी ईश्वरदेखि पर केही छैन । मानवीय अहं आफ्नै शत्रु हो भन्ने कुरा पनि भगवान्को जन्म प्रसंगमा जोडिन आएका छन् । भगवान्ले कर्मयोगका माध्यमले आफ्नो लीला चरित्र प्रस्तुत गर्नु भएको छ । सोही कर्मयोगको मूल मन्त्र नै श्रीमद्भगवद्गीता हो । कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन (गीत, २।४७) गीताको मूल अभिप्राय हो ।
श्रीकृष्ण लीलावतारका थुप्रै प्रसङ्गहरू रहेका छन् । ती मध्ये धर्म संस्थापन प्रमुख उद्देश्य हो । प्रत्येकको कर्मले मागी ल्याएको पूरा गर्न नै भगवान्को पदार्पण भएको हो । सर्वशक्तिमान् परमात्माले कंसको कारागारमा जन्म लिइसकेपछि पनि नन्द र यशोदाकहाँ पुग्नु पर्ने कारण असुरक्षा होइन । नन्दबाबा र यशोदाको मनोकांक्षा जन्म जन्मान्तरको कर्मभोगलाई फलितार्थ गर्न नै भगवान्को बाल्यकाल गोकुलमा वितेको हो । यसैगरी भगवान््को गोकुलसँग सम्बन्धित अन्य थुप्रै विषय पनि अन्तर्निहित रहेका छन् । राधासँगको जीवन्त प्रेम प्रकट गर्नु पनि अर्को कारण थियो । यसैगरी यमुना नदीलाई पावन बनाउन पनि नन्दगाँउसम्मको यात्रा तय गर्नु परेको हो । यसमा हरेक पद पदको भिन्ना भिनै अर्थ रहेको पाइन्छ । सुदामासँग मित्रभाव, गाईप्रतिको विशेष आदरभाव, गोपिनीको व्रत पूरा गर्न अनि बलरामलाई पनि दाजुको रूपमा वरण गरी बाल्यकालीन लीला दर्शाउन गराउने उद्देश्य पनि अन्तर्निहित रहेको पाइन्छ । अघासुर, बकासुर, धेनुकासुर, तृणावर्त आदिलाई अन्त्य गर्नु, पूतनाको उद्धार गर्नु, कालेय नागको अन्त्य गर्नु आदि पनि सोही प्रसङ्गमा आएका हुन् । जसले जस्तो कर्मको भोग लिएर आएका थिए ती सबैको उद्धारका निम्ति पनि भगवान्ले लीला ग्रहण गर्नु भएको हो ।
हामी सबै आआफ्ना समयमा चलिरहेका छौँ । कर्मको भोग अनुसार जे जस्तो गरेका छौँ सोही भोग्दै इहलीला व्यतित गरिरहेका छौँ । सोही भोग सकिएपछि हाम्रो सद्योमुक्ति हुन्छ । जबसम्म हाम्रो मुक्ति मिल्दैन तबसम्म हामी जन्म जन्मान्तर पुनर्जीवनको चक्रमा परिरहन्छौँ । यही सन्देश भगवान्का उपदेशमा पनि पाइन्छ । भगवान्का लीला चरित्रले पनि यही दर्शाएका छन् । भगवान््को कृष्णअवतारमा मात्र सोह्रकला पूर्ण भएका छन् । भगवान््को श्रीराम अवतार पनि अपूर्ण थियो । लक्ष्मणले भाइ भएर सेवा गरेका थिए । लक्ष्मणको भित्री मनोकांक्षा पूर्ण गर्न भगवान्ले कृष्णावतारमा दाजु बलराम पाउनु भएको हो । यसरी बलरामको जन्मका पछाडि पनि जन्म जन्मान्तरको कर्म र आर्जित फलले काम गरेको देखिन्छ ।
कंसको पनि भगवान्कै हातबाट मुक्ति पाउने पूर्व जन्मदेखिको कमाइ थियो । यसैगरी शिशुपाल, अष्टावक्र, कुवलयापीड आदिले पनि आफ्नो कर्मको फल भोग गरेर इहलोकबाट मुक्ति पाएका हुन् । उग्रसेन, देवकी र वसुदेवले पनि आफ्नो कर्ममा लिई आएको फल नै भोग गरेका हुन् । भगवान््का सामने जेल के नै थियो र ? तै पनि दश वाह्र वर्षसम्म उग्रसेन, देवकी, वसुदेव लगायतले कारागारको कठोर जीवन यापन गर्नु परेको थियो । यसबाट के प्रष्ट हुन्छ भने सबैको आ–आफ्नो समय हुन्छ । आफूले कर्ममा आर्जित गरेको जो फल छ सो भोग्नै पर्छ । यही भोगाइका क्रममा नै सम्पूर्ण कृष्ण लीला चरित्र रहेको पाइन्छ । हुन त भौतिकवादीले यो कुरा मान्दैनन् । पुनर्जन्म नमान्नेका अघि यो कुरा पनि अपाच्य हुन सक्छ । तर भौतिकवदका गुरु नै अध्यात्मको अाँँगनीमा बाँचिरहेको तथ्य पनि बुझ्नु जरुरी छ । यो संसारमा अध्यात्मसँगै भौतिक पनि छ । अन्तिम सत्य अध्यात्म नै हो भौतिक होइन । भौतिकवादका जति भँगाला बगाए पनि अन्तिममा मिसिने अध्यात्म मै हो । चाहे नित्से हुन् चाहे माक्र्स सबै अध्यात्मकै पुजारी थिए ।
कर्म दिने पनि ईश्वर नै हुन् भन्ने भान पर्न सक्छ । ईश्वर केवल सृष्टि कर्ता मात्र हुन् । उनको सृष्टि पश्चात् हामीले जे जस्तो कर्म गर्छोै भोग्छौँ र आर्जित गर्छौ त्यसमै हाम्रो भविष्य पनि निर्धारित हुन्छ । आद्य अवस्था शून्यप्राय रहन्छ । जब कर्मको वेदीमा होमिन्छौँ अनि शुभाशुभ फल भोग्दै अगाडि बढ्ने गर्दछौँ । हाम्रो लामो यात्रामा जे जस्ता परिघटना हुन्छन् ती जन्म जन्मान्तरका हुन् जुन कुरा इतिहास पुराण र महाभारतका कथाले पनि व्यक्त गरेका छन् । महाभारतमा द्रौपदीकै प्रसङ्ग कोट्याउने हो भने पनि उक्त कुरा प्रष्टिन आउछ । पहिलेको जन्ममा शिवजीसँग द्रौपदीले पाँच प्रकारका बलशाली पतिको वर माग गरेकी थिइन् । सोही कुरा पञ्चपाण्डवकी पत्नी भएपछि भगवान् श्रीकृष्णले सम्झाउनु भएको छ । यसैगरी जरासन्धको पनि भीमकै हातबाट मृत्यु हुने कर्म थियो । किनकि उसको मुक्ति हुने समय आएको थिएन । त्यही भएर भगवान््ले भीमलाई जरासन्धसँग युद्ध गराउनु भयो । तर शिशुपालको भगवान््कै हातबाट मुत्यु हुने कर्म लिएर आएको कारण सोही सावित भयो । यसरी हेर्दा मान्छेले जस्तो कर्म लिएर आएको छ, जे जस्तो कर्ममा आर्जित गरेको छ सोको फल भोग्नु नै पर्छ । जुन जन्म जन्मातरसम्म नै रहिरहन्छ । यही नै कर्म योग हो । त्यसैले कर्मको वेदीमा होमिन भगवान् श्रीकृष्णले अर्जुनलाई उपदेश दिनुभएको छ । जुुुुुुुन हाम्रा लागि पनि हो ।
इहलोकका लौकिक विषयवस्तुको ज्ञान दिलाउन नै भगवान्् श्रीकृष्णको अवतार भएको हो । अँधेरी रातमा जन्मनु भएका श्रीकृष्णले संसारलाई उज्यालो दीप वालेर इहलोक त्याग्नु भएको छ । मृत्यु सबैका निम्ति अवश्यम्भावी छ । भगवान्् सर्वशक्ति सम्पन्न भएर पनि इहलोक त्याग्नु पर्ने कारण सोही कर्मको प्रतिफल नै हो । जति समय यो लोकमा कार्य गर्नु छ सो सकियो भगवान्् पनि स्वधाम प्रस्थान गर्नु भयो । यसैगरी हामी पनि आफ्नो कार्यका निम्ति यस धर्तीमा जन्म लिएका छौँ । हामीले आफ्नो कर्म गर्दै जाने हो । जस्तो कर्म गर्छौ सोही फल पनि भोग्दै जान्छौँ । त्यसैले हामी सबै असल कार्यमा लागि पर्नु पर्दछ । धर्म कमाउनु भनेको नै असल हुनु हो । परोपकारी कार्य गर्नु हो । अरुलाई सहयोग गर्नु हो । ज्ञान र विवेक हुँदा हुँदै पनि हामी खराब कार्यमा लाग्नु आफ्नै लागि घातक हुन्छ । किनकि हामीले जस्तो कार्य गर्छौँ त्यसको त्यस्तै फल भोग्नु नै पर्छ । भगवान् श्रीकृष्णवतारको तात्पर्य पनि कर्मयोगी बन्न सिकाउनु नै हो । सबैलाई धर्मको मार्गमा अघिबढ्न अभिप्रेरित गर्नु नै हो । अतः हामी सबै सत् कार्यमा लागौँ । जय श्रीकृष्ण !