एनआरएनए अध्यक्षलाई मापसे आराेपमा जहाजबाट ओरालियो


हरेकपल August 25, 2019

काठमाडौं, ८ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट जहाजमा मापसे कारबाहीमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौंबाट सिंगापुर जान लागेका अध्यक्ष भट्टलाई मापसेको गरेको भन्दै सिल्क एयरले हवाई जहाजबाट बाहिर निकालेको हो ।

उनीहरू बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला सिल्क एअरका ‘क्रु मेम्बर’ले भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई बाहिर निकालिदिएका हुन् । भट्टसँगै सिंगापुर जान लागेका न्यौपानेले फेसबुक लाइभ गर्दै सोबारे जानकारी गराएका छन् । उनले अडियो लाइभमा भनेका छन्, ‘एयरलाइन्समा बोर्ड गरिसकेपछि, सिटमा बसिसकेपछि त्यहाँको क्याप्टेन आएर आई क्यान नट फ्लाई विथ यु भन्यो ।’

एनआरएनए अध्यक्ष भट्ट र उनी त्यो दिन जहाज चढ्नुअघि केही बिजनेस मिटिङमा सहभागी भएको न्यौपानेले जनाएका छन् । ती मिटिङहरुमा हल्का मदिरा सेवन गरेको उनले स्वीकार गरेका छन् । न्यौपानेले भने, ‘तर, उहाँ (भवन भट्ट)ले मैले प्रधानमन्त्रीलाई भेट्नु छ आज म अल्कोहल त्यति लिन्नँ भन्नुभा’थ्यो ।’

बिजनेसको सिलसिलामा आफूहरू सिंगापुर जान लागेको र सोही अवसरमा प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यलाभको कामना गनैृ आफूहरूको कार्यक्रम रहेको उनले बताए ।

प्लेनको सिटमा बसिसकेको यात्रुलाई ओरालेर एयरलाइन्सका कर्मचारीले आफूहरुको बेइज्जत गरेको र यसबाट आफूहरू लज्जित हुनुपरेको उनको गुनासो छ । यसबारे एनआरएनए अध्यक्ष भट्टले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।