सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन बढ्यो १२ सय रूपैयाँ


हरेकपल August 25, 2019

काठमाडौं, ८ भदौ । नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ । आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारसम्म प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको सुन एकैदिन १२ सय रूपैयाँले बढेर ७२ हजार ५ सय रुपैयाँ पुगेको हो । यो अहिलेसम्मकै बढी मूल्य हो । यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय पुगेको थियो ।

छापावाल सुनसँगै तेजाबी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ७१ हजार रहेको तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार प्रतितोला ८ सय २५ रहेको चाँदी आइतबार तोलामा २५ रुपैयाँले बढेर ८ सय ५० पुगेको छ । चाँदीको मूल्य पनि अहिलेसम्मकै सबैभन्दा उचाइमा पुगेको हो ।