रविलगायतलाई आत्महत्या दुरुत्साहनको अभियोग लगाउन प्रहरीकाे राय पेश


हरेकपल August 25, 2019

चितवन । जिल्ला प्रहरी कार्यालय, चितवनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायत तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

आइतबार १० दिनको अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा फाइल पेस गरेको हो । प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ ।

अब उनीहरुविरुद्ध थुनछेक बहसपछि तीनैजनालाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

चितवनको कंगारु होटेलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका पुडासैनीले आफ्नो आत्महत्यामा लामिछाने, कँडेल र कार्की दाषी भएको आरोप लगाएको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानका लागि लामिछानेलगायत तीनैजनालाई साउन ३० पक्राउ गरेको थियो । प्रहरीले पुडासैनीकाे आत्महत्या भिडियाेबाहेक अन्य प्रमाण पनि फेलापरेकाे दाबी गरेकाे छ ।