रविसहित तिनै जनाको बयान सकियो, थुनछेक बहस सुरु


हरेकपल August 26, 2019

चितवन, ९ भदाै । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलसँग आज चितवन जिल्ला अदालतमा बयान लिने काम सकिएको छ ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार लामिछाने र कँडेलसँग आज विहानदेखि शुरु भएको बयान सकिएको हो । अस्मिता भनिने रुकु कार्कीको बयान भने हिजो नै सकिएको थियो ।

हिजो समय अभावका कारण दुई जनाको बयान आज लिइएको श्रेष्तेदार गिरीले बताउनुभयो । तिनै जनाको बयान सकिएकोले अहिले थुनछेक बहस शुरु भएकाे छ ।

बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको उहाँले बताउनुभयाे । उहाँका अनुसार जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको हो ।

मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु। ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ । जिल्ला न्यायाधिश हेमन्त रावलको ईजलासमा उक्त मुद्दा रहेको छ ।

यसअघि प्रहरीले अनुसन्धानमा जुटेका प्रमाणसहित उनीहरुलाई हिजो जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले हिजो नै मुद्दा दर्ता गराएको हो ।

गत साउन २० गते राती नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । सो पश्चात अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफुले आत्महत्या गर्न वाध्य भएको उल्लेख गरेपछि लामिछाने सहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौंवाट पक्राउ गरेको थियो ।

उनीहरु पक्राउसँगै समर्थकहरुले रिहाई गर्नु पर्ने माग गर्दै दिनहुँ भरतपुरमा प्रदर्शन गरिरहेका छन् । गत वर्षको भदौमा लागू भएको नयाँ कानुनमा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाहि हुने व्यवस्था रहेको छ । आत्महत्या दुरुत्साहनमा पाँच वर्ष सम्म कैद र रु ५० हजार सम्म जरिवाना हुने व्यवस्था छ । यस अघि यसै प्रकारका ६ वटा मुद्दा जिल्ला अदालत चितवनमा दर्ता भईसकेका छन् ।